२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

विद्युत् प्राधिकरणले विभिन्‍न ठाउँमा निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा

Logo
प्रकाशित बुधबार, भाद्र २०, २०८०


(ABC-Sanchar)
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले यी चार्जिङ स्टेसनको संयूक्त रुपमा उद्घाटन गरे ।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएका हुन् । यी स्टेसनबाट सवारी साधन छिटो चार्ज गर्न मिल्ने प्राधिकरणले जनाएको छ ।
करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना/ ठूला कारहरु चार्ज गर्न मिल्ने छन् । प्राधिकरणका अनुसार चार्ज गर्दा प्रतिकिलोमिटर दूरीका लागि कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ २० पैसा खर्च लाग्छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्ने प्राधिकरणले जनाएको छ ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधन एक साथ चार्ज गर्न सकिने छ ।

उद्घाटन अवसरमा मन्त्री बस्नेतले विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन र विस्तारको लागि आवश्यक सहुलियत प्रदान गर्न र अनुकुल वातावरण बनाउन सरकार तयार रहेको बताए । आगामी दिनमा देशव्यापी रुपमा चार्जिङ स्टेसन विस्तार हुने उनको भनाइ छ ।

‘विद्युतीय गाडी (ईभी)मार्फत नै हरित र दिगो विकासमा महत्त्वपूर्ण योगदान गर्नसक्ने विश्वास लिएका छौं’ मन्त्री बस्नेतले भने ‘विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्यूनीकरणमा महत्त्व राख्छ । सँगै नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्नेछ ।’

त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए । विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५/२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने बताए । प्राधिकरणले देशभर थप ५ सय वटा चार्जिङ स्टेसन स्थापना गर्न लागेको उनको भनाइ छ ।

‘आन्तरिक रुपमा विद्युत् खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गरिएको हो’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]