२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

कंचनपुरमा उखु खेतीबाट मनग्य आम्दानी

Logo
प्रकाशित शुक्रबार, कार्तिक १०, २०८०

 

(ABC-Sanchar)
कञ्चनपुर । वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका शुक्लाफाँटा नगरपालिका-१२ कालगौँडीका धन्नुबहादुर रानाले उखु खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् ।

छ वर्षदेखि उखु खेती गर्दै आएका रानाले वार्षिकरुपमा छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । ट्रेन्च प्रविधिमा रानाले उखु खेती गर्दै आउनुभएको छ । चार बिघा जग्गामा रानाले उखु खेती गर्नुभएको छ । “पाँच बिघा जग्गामध्ये एक बिघा जग्गा मेरो स्वामित्वको हो”, उहाँले भन्नुभयो, “एक बिघा जग्गामा धान र गहुँ लगायतका बाली लगाउँछु, चार बिघा जग्गा लिजमा लिएर उखु खेती गरेको छु ।” चार बिघा जग्गामा एक हजारदेखि एक हजार सात सय क्विन्टलभन्दा बढी उखु उत्पादन हुने गरेको छ ।

“उत्पादित उखु चिनी मिलले खेतबाटै गाडीमा ढुवानी गरिदिने गरेको छ । पैसा बैङ्क खातामा मिलले नै हालिदिन्छ”, उहाँले भन्नुभयो, “उखु लगाउने, गोडमेल गर्ने, सिँचाइ गर्ने, मलखादको व्यवस्था गर्ने, कटान गरी मुठा बाँधेर राख्ने काम मात्रै मैले मजदुर लगाएर गर्ने गरेको छु ।” मजदुरको ज्याला, सिँचाइ, मलखाद, जोताइमा गरी एक लाखदेखि एक लाख ३० हजारसम्म खर्च आउने गरेको उहाँले बताउनुभयो ।

घरमै बसी बसी आम्दानी हुँदै आएकाले यस खेतीलाई आधा दशकदेखि निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार एकपटक लगाएपछि तीन वर्षसम्म उखुलाई सामान्य मिहिनेत गरी आम्दानी लिन सकिन्छ । “वैदेशिक रोजगारीबाट धेरै कमाई गर्न सकिन्छ भनेर नै गाउँकै साहुबाट तीन लाख कर्जा निकालेर वैदेशिक रोजगारीमा कतारमा दुई वर्ष बसेँ”, उहाँले भन्नुभयो, “मासिकरुपमा ५० हजार तलब पाइन्छ भन्ने दलालको प्रलोभनमा परेर त्यसतर्फ लागेको थिए, जब काम गर्न कम्पनीमा गए, त्यसपछि मात्रै महिनाको २० हजार तलब पाइने थाहा पाएँ ।”

मासिकरुपमा पाइने तलबमा खाना खर्च ब्यहोर्नु पर्ने भएकाले १५ हजार जति मात्रै बचत हुने गरेको विगत सम्झँदै उहाँले बताउनुभयो । तलबको केही रकम बचत गरी साहुको ऋण तिर्न भ्याएपछि घर फर्केको उहाँले उल्लेख गर्नुभयो । वैदेशिक रोजगारीमा गएको भए पनि घर फर्कंदा रित्तो हात फर्केको तीतो अनुभव उहाँले सुनाउनुभयो ।

कम्पनीमा इलेक्ट्रोनिकसम्बन्धी काम सिकेकाले हाउस वाइरिङको काम गर्न थालेपछि केही रकम जम्मा गरी उखु खेतीलाई व्यावसायिकरुपमा गरेको उहाँको भनाइ थियो । “उखु खेतीसँगै हाउस वाइरिङको काम पनि गर्छु,” उहाँले भन्नुभयो, “श्रीमतीले सिलाइकटाइको काम गर्नुहुन्छ, उखु खेतीको आम्दानीसँगै श्रीमान श्रीमती दुवै जनाले गर्ने कामबाट वर्षमा तीन लाख जति अतिरिक्त आम्दानी हुन्छ । विदेशमा भन्दा स्वदेशमै काम गरे परिवारसँगै बसेर सहजरुपमा आम्दानी लिन सकिन्छ”, उहाँ भन्नुहुन्छ, “त्यसका लागि धैर्य, इच्छाशक्ति र लगनशीलताको खाँचो छ, व्यवसायमा थोरै लगानी गरेर पनि धेरै कमाउन सकिन्छ ।”

राना जस्तै कालागौँडी गाउँका ७० बढी किसानले व्यावसायिकरुपमा उखु खेती गर्दै आएका छन् । उखु खेती हुने गाउँका रुपमा परिचित कालागौँडीका किसानको वार्षिक आम्दानी तीन लाखदेखि १२ लाखसम्म रहेको वडाअध्यक्ष नवल सिंह रानाले बताउनुभयो । “उखु खेती गर्दा बीउ, कृषि औजार, मलखाद र सिँचाइमा अनुदानको व्यवस्था गरिए उखुको उत्पादन बढ्न सक्छ”, उहाँले भन्नुभयो, “किसानको आम्दानी बढछ, वैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै रोक्न सकिन्छ ।” रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।