१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार शनिवारदेखि सुरु

Logo
Abc Sanchar प्रकाशित शनिबार, कार्तिक २५, २०८०

नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार शनिवारदेखि सुरु

(ABC-Sanchar)
काठमाडौं । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिवार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । आज बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।

कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिवारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । ‘सायङ्कालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो,’ अधिकारले भने ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धन त्रयोदशी (धनतेरस) पर्व भने शनिवार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसै गरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताए । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटिकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए ।

आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ । गाई पूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरु पूजा, हल तिहार, गोवद्र्धनपूजा, बली पूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलवार परेको छ ।

कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।

भाइटिका कात्तिक २९ गते १०:५१ बजे उत्तम

कात्तिक २९ गते बुधवार भाइटिका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान १०:५१ बजे भाइटिकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले बताए । सर्वसाधारणका लागि मध्याह्नकलामा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ ।

भाइ पूजा र नेवारी भाषामा किजापूजा कात्तिक २९ गते नै परेको छ । त्यस दिन बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । परम्परा अनुसार नेवार समुदायका केही मानिसले भने कात्तिक २८ र ३० गतेसमेत किजापूजाका नाममा यो पर्व मनाउने घोषणा गरेका छन् ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै वीरग लगायत प्रमुख सहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले सहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।

यस अवसरमा विकृतिका रूपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरूलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ ।

नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रूपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरे पनि पकड्न भने छोडेको छैन ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा एक लाख ८ हजार ६३० जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । नोभेम्बरमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन् । जसअनुसार भारतबाट २४ हजार ४४३ जना नेपाल आएका थिए । त्यस्तै अमेरिकाबाट ११ हजार ४६१, चीनबाट ७ हजार ६०१ जना नेपाल घुम्न आएका छन् । […]

  (महेन्द्र सिंह) बाँके । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाबीचको वैठकमा निजी प्रयोजनका लागि खरिद गरिएका रातो नम्बर प्लेटका इ–रिक्सामा यात्रु बोक्ने क्रम बढेपछि अबदेखि यात्रु बोक्न प्रतिबन्ध लगाइने भएको हो । रातोलाई कालो नम्बर प्लेट बनाउन लगाउने र त्यसका लागि १५ दिने सूचना जारी गर्ने निर्णय गरिएको नगर प्रमुख […]

नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार शनिवारदेखि सुरु (ABC-Sanchar) काठमाडौं । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिवार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । आज बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । […]