०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

आज बेलुका लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै

Logo
Abc Sanchar प्रकाशित आइतबार, कार्तिक २६, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन्।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ। कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो।

चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ। यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ। यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ।
रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

उत्तर प्रदेशका मुख्यमन्त्री *योगी आदित्यनाथ*ले भारत र नेपालबीचको सम्बन्धलाई *साझा सांस्कृतिक र ऐतिहासिक विरासत*को रूपमा व्याख्या गरेका छन्। उनले दुवै देशका नागरिक, विशेष गरी नेपाली नागरिकको आवतजावतमा समस्या नहोस् भनेर सीमामा पूर्वाधार विकास आवश्यक रहेको बताएका छन्। *उनको भनाइको मुख्य बुँदा:* 1. *साझा विरासत*: भारत र नेपालको सम्बन्ध धर्म, संस्कृति, रोटी-बेटीको नाताले जोडिएको छ। यो […]

दैलेख । दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोन गरी आफ्नो काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्कालाई प्रधानमन्त्री कार्यालयले कारबाही गर्न निर्देशन दिएको छ। खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट […]

error: Content is protected !!