२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

देशभरबाट जाडो छल्न नेपाल आइपुगे विभिन्न प्रजातिको चराहरु

Logo
Abc Sanchar प्रकाशित शनिबार, मंसिर ०२, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको वासस्थान बनेको छ ।

कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । विशेष गरी जाडो छल्न र बच्चा कोरल्न पाहुना चराको आकर्षक गन्तव्य नेपाल बन्ने गरेको छ । तर हजारौँको सङ्ख्यामा आउने बार हेडेड गुस ९खोया हाँस० को सङ्ख्या घट्दो क्रममा रहेको प्रमुख गौतम बताउनुहुन्छ ।

“नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरिकै नेपालमै रहन्छन् भन्ने हुँदैन”, बर्ड वाचिङ क्याम्प कोशीटप्पुका सञ्चालक कुरमान मन्सुरीले भन्नुभयो, “नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइसराइ वर्षभरि नै निरन्तर चलिरहन्छ ।” उहाँका अनुसार कोशीटप्पुकै आसपासमा रहेको बर्जू ताल र मोरङको बेतना सिमसारमा पाहुना चरा झुण्डमै आउने गरेको पाइएको छ ।

वातावरण पत्रकार एवं उपप्राध्यापक रामचन्द्र अधिकारीका अनुसार नेपालको विभिन्न भागबाट तथा दक्षिण भारत र साइबेरियासम्मका चरा बेतनामा हेर्न पाइन्छ । बेतना सिमसारमा ४९ प्रजातिका चरा रहेको तथ्याङ्क छ । यसमा ७० प्रतिशत स्थानीय, १८ प्रतिशत हिउँदमा आउने पर्यटक चरा र १२ प्रतिशत गर्मीमा आउने पर्यटक चरा रहेको अधिकारीले जानकारी दिनुभयो । “कोशीटप्पुमा आउने प्रायः जसो पाहुना चरा यहाँ पनि आइपुग्छन्, मङ्सिरदेखि फागुनसम्म नेपाल बाहिरबाट आउने चरा यहाँ बस्ने गरेको पाइएको छ”, उहाँ बताउनुहुन्छ ।

उत्तरी ध्रुवमा हिमपातको सुरुआतसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ चरा बसाइँसरी आउने गर्छन् । बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्गिस्तान, तुर्किमिनिस्तान, उज्बेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क छ । करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गर्छन् ।

जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन् । जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राई आदि पर्दछन् ।

आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरू चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्य चरामा मुरलीचरी, गाजले सुनसरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य वासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषि भूमि भएको कोशी संरक्षण केन्द्रका प्रमुख गौतम बताउनुहुन्छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।