(ABC-Sanchar)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल टिकटकबाट नेपाली समाजमा सामाजिक महामारी फैलाएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिट निवेदनको एकमुष्ट जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले टिकटकका कारण नेपाली समाजमा प्रविधिगत प्रदूषण बढ्दै गएको र त्यो नियन्त्रण गर्न आवश्यक रहेको बताएका हुन् ।
लिखित जवाफमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘टिकटकको सकारात्मकका साथै नकारात्मक प्रयोग पनि भइरहेको देखिएकाले यो सामाजिक रोग तथा महामारीका रुपमा फैलिंदै गई प्रविधिगत प्रदूषण बढ्दै गएको हुँदा यसका समग्र नकारात्मक पक्षबाट समाज तथा समग्र राष्ट्रलाई नै सुरक्षित गरी बहुसंख्यक नागरिकको हित संरक्षण गर्ने अभिप्रायले यसको प्रयोगमा रोक लगाउने गरी निर्णय भएको हो ।’
प्रधानमन्त्री प्रचण्डले टिकटकबाट नेपाली समाजमा सद्भाव विथोलेको, घृणा फैलाएको, सामाजिक सहिष्णुतामा आँच आउने अभिव्यक्तिहरु आएको, अश्लील सामग्री शेयर गरेर फैलाउने क्रम बढेको दाबी गरेका छन् ।