ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालय प्रमुख प्रहरी महानिरीक्षक आईजिपी वसन्त बहादुर कुँवर अस्ट्रिया भ्रमणबाट बिहीबार स्वदेश फर्किएसँगै एसपी बढुवा प्रक्रियाले गति लिने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
यसअघि एसपीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएर पदस्थापन समेत भइसकेकाले डीएसपीबाट एसपी बढुवाको बाटो खुलेको थियो। तर महानिरीक्षक कुँवर अस्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औं महासभामा सहभागी हुन गएकाले बढुवा प्रक्रिया लम्बिएको थियो। बिहीबार आईजी नेपाल फर्किएसँगै बढुवाले गति लिने भएको हो।
डीएसपीबाट एसपी बढुवाको सिफारिस गर्ने समितिमा समेत आईजी अध्यक्ष रहेन व्यवस्था छ। राजपत्रांकित द्वितीय श्रेणीको पद एसपीमा बढुवा सिफारिसका लागि बन्ने समितिमा आईजी अध्यक्ष तथा गृह मन्त्रालयको सहसचिव सदस्य र आईजीले तोकेको एआईजी वा डीआईजी सदस्य सचिव रहने व्यवस्था छ। अबको केही दिनमै उक्त समितिले ७ जना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गर्नेछ।
२०७२ भदौमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट डीएसपीमा बढुवा भएकाहरु अहिले एसपी बढुवाको प्रतिस्पर्धामा छन्। बढुवा समितिले अबको केही दिनमै डीएसपीबाट एसपी बढुवाको सिफारिस निकाल्ने तयारी गरेको छ।
यसअघि २ एसपीको पद रिक्त थियो। पछि ५ जना एसपीलाई एसएसपीमा बढुवा गरेसँगै अहिले एसपीका ७ पद रिक्त भएका छन्। रिक्त रहेको ७ एसपीको पदमा बढुवा हुन अहिले डीएसपीहरु प्रतिस्पर्धामा छन्।
जसअनुसार बढुवाको पहिलो नम्बरमा प्रदीपकुमार क्षेत्री छन्। त्यसैगरी दास्रो नम्बरमा अंगुर जिसी, तेस्रो नम्बरमा ढकेन्द्र खतिवडा छन्। त्यसैगरी क्रमश: यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निन्जन दत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा, विनोद घिमिरे बढुवाको प्रतिस्पर्धामा छन्। उनीहरु सबै जना २०७२ भदौमा डीएसपी बनेका थिए।
यही ब्याचका, तर २०७२ भदौमा छुटेर पछिल्लो लटमा डीएसपी बनेकाहरु पनि अहिले बढुवाको प्रतिस्पर्धामा छन्। इन्सपेक्टरको भर्ना एउटै मितिमा भएको, तर बढुवा हुने बेला छुटाइएको भन्दै उनीहरु पनि अहिले नै एसपी बन्न लविइङमा लागेका छन्।
इन्सपेक्टरबाट डीएसपी बढुवा अन्योल
डीएसपीबाट एसपी बढुवा प्रक्रिया केही दिनमै अघि बढ्ने बताइए पनि इन्सपेक्टर (प्रहरी निरीक्षक)बाट डीएसपी बढुवामा भने अन्योल कायम छ। इन्सपेक्टरबाट डीएसपी बढुवा गर्दा कोटा थारै, तर प्रतिस्पर्धीहरु धेरै भएकाले तत्कालै बढुवा गर्ने पक्षमा आईजी कुँवर नरहेको स्रोतले बतायो।