(एबिसि संचार ) मकवानपुर र पाल्पाबाट ७४ किलो गाँजासहित ५ जना पक्राउ परेका छन् । मकवापुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ७३ किलोग्राम र पाल्पाबाट १ किलोग्राम गरी जम्मा ७४ किलोग्राम गाँजासहित ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमध्ये भारत मोतिहारी बस्ने २४ वर्षीय भुषनकुमार र १५ वर्षीय किशोर रहेका छन् । डिएल ४३ एनबी ५९९४ नम्बरको भारतीय गाडीमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले करिब ४७ केजी गाँजासहित पक्राउ गरेको हो ।यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चुरियामाई मन्दिर नजिकबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर नगरपालिका–२७ बस्ने ४२ वर्षीय रोशन दमाई र खैरहनी नगरपालिका–१६ बस्ने ५२ वर्षीय डियन महतो रहेका छन् । बा १४ प ३७०८ नम्बरको कारमा सवार उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले करिब २६ केजी गाँजासहित पक्राउ गरेको हो ।