(ABC-Sanchar)
काठमाडौं । लागुऔषध गाँजाको उत्पादन, प्रशोधन, भण्डारण र विक्री वितरण भईरहेको भने गोप्य सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय, लागु औषध नियन्त्रण व्यूरो जनकपुर शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गणको संयुक्त टोलीले बुधवार अपरान्ह् ४.३० बजेको समयमा लालबन्दी नगरपालिका वडा नम्वर १४ डाईनी खोला भन्दा माथि लंगुर डाँडा स्थित दुई तल्ले घरमा छापा मारेर १६ क्वीन्टल १२ किलोग्राम लागु औषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय मलंगवामा विहिवार आयोजित पत्रकार सम्मेलनमा बरामद गरिएका ठूलो परिमाणका गाँजालाई सार्वजनिक गर्दै लंगुर डाँडामा रहेका दुई तल्ले घरहरुमा सुरक्षाकर्मीहरुले खानतलासी गर्दा टिनको ड्रमहरु र प्लाष्टिकको बोराहरु फेला परेको तथा उक्त ड्रम र बोराहरु खोलेर हेर्दा लागु औषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दिपक श्रेष्ठले बताए ।
डाँडामा रहेका प्रायः घरहरुमा छापा मार्दा शौचालय, कोठा भित्र ड्रममा प्रशोधन गरेर राखिएका गाँजा बरामद गर्न सफल भएका छौं उनले भने । ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन भएर गरिएको छापामारीको त्रममा गाँजा च्याप्ने मेसिनको साथै वजन गर्ने डिजिटल नापतौल मेशिन लगायतका सामग्रीहरु बरामद गरी ल्याइएको तथा उक्त कार्यहरु स्थानीय जनप्रतिनिधिको रोहवरमा छापा मारी गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
प्रहरी उक्त डाँडामा पुगेपछि त्यहाँबाट मानिसहरु फरार भएपछि बेवारिसे अवस्थामा बरामद गरेर जिल्ला प्रहरी कार्यालय आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिदै डिएसपी श्रेष्ठले इलका प्रहरी कार्यालय लालबन्दीबाट २२ किलोमिटर माथि डाडामा उक्त स्थान रहेको हुँदा सजिलै सुरक्षाकर्मीहरुलाई त्यहाँ सम्म पुग्न सहज नरहेको हुँदा प्रहरी उपरिक्षकको कमाण्डमा झण्डै डेढ सय नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उलने स्पष्ट पारे ।