(ABC-Sanchar)
काठमाडौं । प्रधानमन्त्री मन्त्री र सासंदले नियमति तलबभत्ता पाउँदा राष्ट्रसेवक नेपाल प्रहरीका कर्मचारीले भने दुई महिनादेखि तलब पाउन सकेका छैनन् ।अर्थ मन्त्रालयले समयमै बजेट निकासा नगर्दा उनीहरुले तलब नपाएका हुन् । बैशाख र जेठ महिनाको तलब उनीहरुले पाएका छैनन् ।जोखिमपूर्ण पेशामा आवद्ध प्रहरीलाई नियमित तलब नआउँदा दैनिकी टार्न समेत समस्या भएको उनीहरु बताउँछन् ।
देशभर सबै स्थानमा नभएपनि हजारौं प्रहरी कर्मचारीले तलब नपाएका हुन् । प्रहरी प्रधान कार्यालय,विभिन्न तालिम केन्द्रका प्रहरीले तलब पाउन नसकेको उनीहरु बताउँछन् ।
तर नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले तलब नियमित पाइरहेको दाबी गरे । उनले तलब नरोकिएको र कुनै समस्या नभएको बताए ।नेपाल प्रहरीमा झण्डै ८० हजारको दरबन्दी छ ।प्रहरीमा सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४८० रुपैयाँ तलब पाउँछन् भने आईजिपीले ७२ हजार ८२ रुपैयाँ प्राप्त गर्छन् ।सशस्त्र प्रहरी बलमा पनि सबैले तलब नपाएको चर्चा छ । तर सशस्त्रका प्रवक्ता डीआईजी कुमार न्यौपानेले नियमित तलब पाइरहेको बताए ।उनले दर्जागत रुपमा केही ठाउँमा ढिलोचाडो भएको हुनसक्ने बताए ।