दाङ । घोराही उपमहानगरपालिकाले सडक छेउमै सञ्चालन गरिएका ग्यारेज हटाउने भएको छ । अटो वर्कसपका कारण आवागमनलाई असर परेको, दुर्घटनाको जोखिम बढेको तथा सडकमै मर्मतको काम गर्दा विकास निर्माणमा समेत असर पुगेको भन्दै उपमहानगरपालिकाले हटाउने निर्णय गरेको हो ।
घोराही उपमहानगरपालिकाले ३५ दिने सूचना प्रकाशित गरेर आवागमनलाई असर पार्ने तथा सडक बिगार्ने गरी सडक छेउमै सञ्चालन भएका अटो वर्कसपलाई स्थानान्तरण हुन भनेको थियो । घोराही उपमहानगरपालिकाको १४ र १५ नम्बर वडाका ६५ वटा अटो वर्कसपमा ३५ दिने सुचनाको म्याद तामेलसमेत गरिसकेपछि बुधबारदेखि अनुगमन समेत शुरु गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सिंह सुनारको नेतृत्वमा विषयगत क्षेत्रको संयुक्त अनुगमन टोलीले बुधबार अटो वर्कसपको अनुगमन गर्दै केहीलाई तत्काल स्थानान्तरण हुन तथा केहीलाई व्यवस्थित हुन निर्देशन दिएको छ । अनुगमन टोलीले गिताञ्जली मोटर साइकल वर्कसपलाई व्यवसाय दर्ता गरी मापदण्डमा रहेर सञ्चालन गर्न निर्देशन दिएको छ । घोराही–१५ मा रहेको पञ्चर मर्मत केन्द्रका प्रोप्राइटर काशीराम पुनलाई बाटो छेउमा मर्मतको काम नगर्न र सात दिनभित्र व्यवसाय सञ्चालन सम्बन्धी कागजात लिएर नगरपालिकामा हाजिर हुन निर्देशन दिएको छ ।
घोराही–१५ कै मेट्रो अटो वक्र्सपलाई तीन दिनभित्र व्यवसाय नवीकरण तथा सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ । त्यस्तै प्रतीक्षा अटो पार्टसलाई तत्काल अटो भिलेजमा स्थान्तरण हुन निर्देशन दिएको छ । बुद्धि ग्यारेजमा रहेको चौधरी मोटरसाइकल वक्र्सपलाई बाटोमा अवरोध नहुने गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ भने मिन्ु मोटर साइकल वक्र्सपलाई चार दिनभित्र व्यवसाय व्यवस्थापन गर्न तथा तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातसहित नगरपालिकामा हाजिर हुन निर्देशन दिइएको छ । प्रवेश मोटरसाइकल वक्र्सपलाई सात दिनभित्र, गुप्ता मोटरसाइकल वक्र्सपलाई एक साताभित्र पसल स्थानान्तरण वा पसल व्यवस्थापन गर्न, राप्ती मोटरसाइकल वक्र्सपलाई मापदण्डमा सञ्चालन हुन, पल्टु वक्र्सप घोराही–१५ र राजु मोटरसाइकल वक्र्सपलाई पनि पसल व्यवस्थापन गर्न तथा मर्मतको काम सडक छेउमा नगर्न निर्देशन दिइएको छ ।
यस्तै कुशमान मोटरसाइकल वक्र्सपलाई पनि १० दिनभित्र व्यवस्थित गर्न वा पसल स्थानान्तरण गर्न निर्देशन दिइएको छ । पहिलो चरणमा सार्वजनिक सूचना निकालेर तथा नगर प्रहरीलाई खटाएर अटो वक्र्सपलाई व्यवस्थित हुन भनेको तथा दोस्रो चरणमा बजार अनुगमन गरिएको घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सिह सुनारले जानकारी दिनुभयो । उहाँले दोस्रो चरणमा सबैको अनुगमन गरी दिइएको निर्देशन पालना नभएको पाइए तेस्रो चरणमा व्यवसाय नै बन्द गर्ने गरी नगरपालिका एक्सनमा जाने बताउनुभयो । ‘व्यवसाय मापदण्डमा रहेर सञ्चालन गर्नुपर्छ । धेरै जसो सडकमै सवारी मर्मत गर्ने उनैले कर नबुझाउने तथा दर्ता नहुने गरेको पाइएको छ’– उहाँले भन्नुभयो– ‘अब त्यसो गर्न पाइँदैन । सार्वजनिक सम्पत्ति बिगार्न तथा आवागमनमा अवरोध गर्न पाइँदैन । अटेरी गरेमा व्यवसाय नै बन्द गर्ने गरी कारवाही हुन्छ ।’ संयुक्त बजार अनुगमन टोलीमा घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका कर्मचारीसहित दाङ जिल्ला उद्योग वाणिज्य संघ, सम्बन्धित वडाका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, प्रहरी, नगर प्रहरी, पत्रकारलगायतको उपस्थिति थियो ।