२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

८० लाख खर्च गरेर अमेरिका गएका थिए दिपक बन्धुकधारी समूहको आक्रमणबाट मारिए

Logo
नारायण खडका प्रकाशित मंगलबार, साउन १५, २०८१

 

दाङ । अमेरिकामा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट रूकुमका दीपक वली मारिएका छन्। रूकुम बाँफिकोट गाउँपालिका वडा नम्बर १० सेचेका ३० वर्षीय वली अमेरिकाको टेक्सासको ग्यास स्टेसनमा काम गर्थे।

उनी त्यहीँ आक्रमणका परेका हुन्। बन्धुकधारीले गोली हानी उनको हत्या गरेको राप्ती समाज अमेरिकाका अध्यक्ष सुरेश हमालले बताए।

उनकाअनुसार आइतबार बिहान करिब ५ बजेतिर वलीमाथि गोली प्रहार भएको थियो। त्यतिबेला उनी टेक्सासको वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्यास स्टेसनमा काम गरिरहेका थिए।

‘गोली लागेर वलीको घटनास्थलमै मृत्यु भएको रहेछ,’ उनले भने। बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाठा मगरले पनि सेजेका दीपक वलीको अमेरिकामा लुटेरा समूहले गोली हानेर हत्या गरेको भन्दै खबर आएको बताएका छन्।

बाँफिकोट वडा नम्बर १० का अध्यक्ष हरिबहादुर चन्दले पनि दीपकको हत्याबाट गाउँ नै शोकाकुल बन्न पुगेको जानकारी दिए।

‘दीपकको हत्याको खबर सुनेपछि आफन्त, परिवारजन शोकमा हुनुहुन्छ, उहाँहरूलाई सम्झाइबुझाइ गर्ने स्थिति छैन, गाउँका सबैले पिर मान्नुभएको छ,’ वडाध्यक्ष चन्दले भने ।

वडाध्यक्ष चन्दका अनुसार हत्या गरिएका दीपकका ५६ वर्षीय बुवा लिलाराम वली रूकुम पश्चिममा बाख्रा पालन गर्दै आएका छन्।

लिलारामको परिवारमा ७ जना छन्। मृतक दीपककी २६ वर्षीया श्रीमती बिमला बुढाथोकी वली भने ५ वर्षीया छोरी पढाउन दाङ झरेकी छन्।

उनी तुलसीपुरमा बसेर छोरीलाई पठाउँदै आएको वडाध्यक्ष चन्दले बताए।

दीपकका भाइ दिनेश वली पनि वैदेशिक रोजगारीमै छन्। उनी अहिले कोरियामा रहेको वडाध्यक्षले बताए।

मृतकका भाइसँग आफूले कुरा गरिरहेको वडाध्यक्ष चन्दको भनाइ छ।

चन्दका अनुसार दीपक एक वर्षअघि मात्र अमेरिका पुगेका थिए। उनी ‘तल्लो बाटो’ हुँदै अमेरिका पुगेका हुन्।

‘२०२३ को जुलाइमा तल्लो बाटोबाट अमेरिका पुगेका रहेछन्। अमेरिका पुगेको वर्ष दिनमै दीपकको हत्या भएको खबरले गाउँमा सन्नाटा छाएको छ,’ उनले भने।

दीपकका माइला बुवा ४० वर्षीय खिमबहादुर वलीका अनुसार सोमबार बिहान २ बजेतिर अमेरिका बस्दै आएका सेजे गाउँकै विवेक वलीले दीपकको हत्याबारे जानकारी दिएका थिए।

‘गाउँकै विवेकले घर–परिवारलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी दीपकलाई लुटेराले गोली हानेर हत्या गरेछन् भनेर जानकारी दिएका रहेछन्,’ खिमबहादुरले भने, ‘त्यो अप्रत्यासित खबर सुनेपछि हाम्रो कुल, घर परिवारमा रूवाबासी चलिरहेको छ।’

खिमबहादुरका अनुसार दीपक लिलारामका जेठी श्रीमतीका एक्ला छोरा थिए। पहिलो श्रीमतीको मृत्युपछि उनकै ४१ वर्षीया बहिनी प्रतिभालाई लिलारामले दोस्रो श्रीमतीको रूपमा घर भित्र्याएका थिए।

हाल दक्षिण कोरियामा रहेका दिनेश र अर्का १८ वर्षीय जनक कान्छीका तर्फबाट पैदा भएका सन्तान हुन्। जनक अध्ययनको सिलसिलामा काठमाडौंमा रहेको खिमबहादुरले बताए।

खिमबहादुरका अनुसार अमेरिका पठाउने गिरोहको सम्पर्कमा पुगेका दीपकले २०७९ मंसिरमा घर छाडेका थिए।

‘उसले घर छोडेर हिँडेको अब आउने मंसिरमा ठिक तीन वर्ष पुग्छ,’ खिमबहादुरले भने, ‘अवैध मार्गबाट जाँदा उसले धेरै कष्ट पायो। बल्ल कमाउन थालेको थियो, त्यस्तो खबर आइहाल्यो!, स्वदेशमै रोजगारी भइदिएको भए, लालाबाला छाडेर कष्ट छिचोल्दै अवैध बाटाबाट किन अमेरिका जाँदो हो!’

अमेरिका सपना पछ्याउँदै हिँडेका दीपकले झन्डै डेढ वर्ष बाटामै बिताएका थिए।

दीपक ८० लाखभन्दा बढी रुपैयाँ खर्च गरेर अमेरिका गएको पनि खिमबहादुरले बताए।

‘गिरोहको आश्वासनमा परी अमेरिका पुग्ने सपना पछ्याउँदै हिँडेको भतिज दीपकले बाटोमा असाध्यै दुःख पाएको सुनाउँथ्यो,’ खिमबहादुरले भने, ‘यत्रो दुःख, कष्ट सहँदै पैसाको खोला बगाएर अमेरिका आउनु ठिक होइन रहेछ भन्थ्यो।’

परिवारको थाप्लामा अहिले दीपकलाई अमेरिका पठाउँदा लागेको ऋणको बोझ छ।

दीपक मारिएपछि घरमा रुवाबासी चलेको छ। परिवारलाई सम्झाइबुझाइ गर्नु त छँदैछ। अमेरिका जाँदा लागेको ऋण कसरी चुक्ता गर्ने भन्ने अर्को पिर थपिएको खिमबहादुरले बताए।

‘अमेरिका जाँदा लागेको ८० लाख ऋणमध्ये आधा मात्रै तिर्न सकेका रहेछन्। अझै ४० लाख बुझाउन बाँकी छ भनेर दाजु पिर मानिरहनुहुन्छ,’ खिमबहादुरले भने।

खिमबहादुरका अनुसार दीपकको शव अहिले पोष्टमर्टमका लागि अस्पताल राखिएको छ।

टेक्सासमा सेजे गाउँका अरू युवा पनि छन्। उनीहरूसँग दीपकको परिवार सम्पर्कमै छ।

शवको परीक्षण भइनसकेकाले नेपाल ल्याउने प्रक्रिया के हुने टुंगो लाग्न नसकेको खिमबहादुरले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]