२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

प्राकृतिक सिमसारको अस्तित्व मेटाउन खोजिँदै कान्ति तालमा मोटरबोट सञ्चालन गर्ने तयारी

Logo
अर्जुन ओली प्रकाशित सोमबार, साउन २८, २०८१

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-२१ र २२ मा पर्ने ‘प्राकृतिक सिमसार’ कान्ति तालको अस्तित्व नै मेटाउन खोजिएको छ।

तलमा माछा पालन लगायत क्रियाकलाप गर्नका लागि नेपालगन्ज उपमहानगरपालिकाले दुई वर्षअघि स्थानीय ठेकेदार फनबहादुर गुरुङलाई १० वर्षका लागि ठेक्का सुम्पिएको थियो।

उपमहानगरपालिका राजश्व शाखाका अनुसार ठेकेदारले २५ बिघा क्षेत्रफलमा फैलिएको उक्त ताल उपयोग गरे बापत वार्षिक २२ लाख ५० हजार रुपैयाँ राजश्व बुझाउँछन्।

स्थानीय बासिन्दाका अनुसार ठेकेदारले विगत दुई वर्ष देखी तालमा माछा पालन गर्दै आएकोमा यसपटक मोटरबोट नै सञ्चालन गर्न खोजेका छन्। मोटरबोट सञ्चालन भएपछि प्राकृतिक सिमसार क्षेत्रका रुपमा रहेको तालको अस्तित्व नै समाप्त हुने खतरा बढेको छ। यसअघि उपमहानगरपालिकाले अर्को सिमसार क्षेत्र वाटर पार्कमा पनि मोटरबोट सञ्चालन गर्न ठेक्का दिएको थियो।

वाटरपार्कमा मोटरबोट सञ्चालन भएपछि विभिन्न प्रजातिका चरा, सरीसृप, लगायतको वासस्थान र बोटविरुवा लोप भएका छन्। यस्तै स्थानीय फुलटेक्रा तालको पनि अस्तित्व मेटिने गरी धार्मिक कार्यमा प्रयोग गर्न दिइएको छ।

यसले गर्दा यहाँ पनि चरा, सरीसृप लगायतको वासस्थान र बोटविरुवा लोप भएका छन्। वाटरपार्क र फुलटेक्रामा जस्तै कान्ति तालमा विभिन्न प्रजातिका चरा, सरीसृप लगायतको वासस्थान र बोट बिरुवा लोप हुने निश्चित रहेको यहाँका संरक्षणकर्मी बताउँछन्।

संरक्षणकर्मी आशिष् चौधरीले सिमसार क्षेत्रको अस्तित्व नै मेटाउने गरी कान्ति तालमा मोटरबोट सञ्चालन भएमा चरा, सरीसृप लगायतको वासस्थान लोप हुने निश्चित रहेको ठोकुवा गरे।

‘यी जीव जन्तुका लागि मोटरबोट निकै घातक मानिन्छ, तर ठेकेदारले मोटरबोट चलाउन खोजिरहेको छ, एउटा बोट ल्याएर राखिसकेको छ,’ उनले नागरिक न्युजसँग भने। नेपालगन्ज उपमहानगर क्षेत्रमा एकपछि अर्को गरेर सिमसार क्षेत्र मासिँदै गइरहेका बेला कान्ति तालको पनि प्राकृतिक अस्तित्व मेटाउन खोजिएको चौधरीले बताए।

उनका अनुसार कान्ति तालमा हिउँदको सिजनमा बाहिरबाट समेत आगन्तुक चराहरु आउने गर्छन्। यहाँ स्थानीय चराको पनि राम्रो वासस्थान रहेको छ। बाहिरबाट यहाँ आउने चराले केही महिनासम्म बसेर बच्चा समेत उत्पादन गर्ने गरेको संरक्षणकर्मी बताउँछन्।

‘तालमा रहेको झाडी, बुट्यानमा बस्ने चरा यहाँ धेरै संख्यामा छन्,’ चौधरीले भने ‘मोटरबोट चलेपछि सबै चरा र सरीसृपको वासस्थान मेटिन्छ र यहाँ उम्रिएका विभिन्न प्रजातिका फुल र झाडी तथा बुट्यान नष्ट हुन्छन्।’

वाटरपार्कमा मोटरबोट चलेपछि चराको वासस्थान लोप भएको उनले स्मरण गरे। यहाँका संरक्षणकर्मीले विगत दुई वर्ष देखी कान्ति तालमा चरा गणना गर्दै आएका छन्।

‘पहिलो वर्ष यहाँ २५ प्रजातिका चरा फेला परेका थिए, दोस्रो वर्ष घटेर २२ प्रजातिका मात्रै चरा फेला परे, आउँदो हिउँदमा फेरी पनि चरा गणना गर्ने योजनामा छौं,’ संरक्षणकर्मी चौधरीले भने।

उनका अनुसार कान्ति तालमा दुर्लभ प्रजातिको मलाहा बिरालो (फिसिङ क्याट), दुर्लभ पंक्षी सारश, विभिन्न प्रजातिका सरीसृप, रैथाने चराले प्रशस्त मात्रामा वासस्थान बनाएका छन्।

दुर्लभ पंक्षी सारश र मलाहा बिरालोका लागि उक्त तालमा माछा लगायत किराहरू प्रमुख आहारा मानिएको छ। संरक्षणकर्मीका अनुसार तालमा माछा पालनले असर नगरेपनि इन्धनबाट चल्ने मोटरबोट निकै खतरनाक मानिन्छ।

क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अभियन्ता डा. बिनोद कर्ण कान्ति तालमा मोटरबोट चलाउनु आफुहरुका लागि स्वीकार्य नभएको बताउँछन्।

‘ठेकेदारले मोटरबोट ल्याएर राखेको छ, हामीले विरोध गरेपछि अहिले तत्कालका लागि रोकेको छ, तर अझैपनि तालमा बोट चलाउने प्रयास भइरहेको छ,’ उनले भने।

नेपालगन्ज उपमहानगरपालिकाकै संलग्नतामा ठेकेदारले कान्ति तालमा मोटरबोट चलाउन खोजेको डा. कर्णको जिकिर छ। ‘कस्तो तालमा मोटरबोट चलाउने, कस्तो तालमा मोटरबोट नचलाउने भन्ने कुराको हेक्का उपमहानगरपालिकाले राख्न जरुरी छ, यदि पर्यावरण नै नष्ट गरेर बोट चलाउन खोजियो भने हामी पनि चुप लागेर बस्ने छैनौं,’ कर्णले भने।

उपमहानगरपालिकाले सिमसार क्षेत्रलाई ठेक्का सञ्चालन गर्न नपाउने र ठेक्का दिइहाले पनि मोटरबोट चलाउन दिने अधिकार उपमहानगरपालिकासँग नरहेको उनी बताउँछन्।

‘एउटाले गरेको गल्तीलाई अर्कोले सुधार गर्ने हो, तर गल्तीमाथि गल्ती गर्ने छुट कुनैपनि जनप्रतिनिधि र कर्मचारीलाई छैन,’ डा. कर्णले भने।

कान्ति तालमा मोटरबोट चलाउन खोजिएपछि यहाँका संरक्षणकर्मीले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका छन्। कान्ति ताल बचाउन उनीहरुले अभियान नै सुरु गरिसकेका छन्।

उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले वाटरपार्कमा मोटरबोट चलाउन ठेक्का दिइसकेपछि कान्ति तालमा पनि मोटरबोट चलाउन दिनुपर्छ भन्ने पक्षमा आफू नरहेको प्रस्ट्याए।

‘वाटरपार्कमा मोटरबोट चलाउन दिइसकेपछि कान्ति तालमा पनि मोटरबोट चलाउन खोजिनु राम्रो होइन,’ उनले नागरिक न्युजसँग भने ‘कान्ति ताललाई सिमसार क्षेत्रका रुपमा विकास गर्न आवश्यक छ।’

कान्ति ताललाई सिमसार क्षेत्रका रुपमा विकास गरेर पनि पर्यटनको विकास गर्न सकिने प्रवक्ता रिजाल बताउँछन्। कान्ति तालमा दुई वर्ष अघि नै ठेक्का सम्झौता भएको प्रष्ट्याउँदै नयाँ जनप्रतिनिधि आएपछि कुनै ठेक्का नभएको दाबी गरे। कान्ति तालमा माछा पालन गर्ने प्रयोजनका लागि ठेक्का दिइएको कुरा आफूले सुनेको र सम्झौता पत्रमा उल्लेख भएका सबै बुँदाबारे जानकारी नभएको प्रवक्ता रिजाले बताए।

उपमहानगरपालिकाको राजश्व शाखा प्रमुख बीरबहादुर थापाले कान्ति तालको ठेक्का लिए बापत ठेकेदारले वार्षिक २२ लाख ५० हजार रुपैयाँ बुझाउँदै आएको जानकारी दिएका छन्।

‘तत्कालीन धवलसम्शेर राणा मेयर हुँदा यो तालमा १० वर्षका लागि ठेक्का लागेको हो, मुख्य रुपमा माछा पालन गर्ने हो, ठेकेदारले माछा पालन गरिरहेका छन्,’ उनले भने।

वर्षौँदेखि बेवास्थामा रहेको उक्त ताललाई उपमहानगरपालिकाले साढे १० करोड रुपैयाँ खर्च गरेर पर्यटकीय स्थलको रुपमा विकास गरेको थियो। उपहानगरपालिकाकाले उक्त ताल वरिपरि ७ मिटरको कालोपत्रे सडक, पक्की नाला, पार्किङ एरिया, रेलिङ, वृक्षारोपण गरेको छ।

ताल वरिपरि कालोपत्रे सडक, नाला, वृक्षारोपण गरेर हरियाली बनेपछि बिहान र बेलुकी समयमा यहाँ हिँड्ने स्थानीय बासिन्दाको ठुलो संख्यामा भिड नै लाग्ने गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]