दमौली । नगरपालिका-१२ स्थित घाँसीकुवामा बुधबार बेलुका सडक माथिबाट पहिरो खस्दा उक्त खण्ड पूर्णरुपमा अवरुद्ध भएको थियो ।
सडकभन्दा करिब ५० मिटर माथिबाट खसेको पहिरोले राजमार्ग पूर्णरुपमा पुरिएको जिल्ला प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए ।
उक्त खण्डको पहिरो बिहीबार बिहान करिव ७:४५ बजेबाट हटाउन सुरु गरिएको उनले बताए । प्रहरी नायव उपरीक्षक रायले भने, `ठूलो पहिरो गएकाले हटाउन समय लाग्ने दखिएको छ ।´
यस्तै यस राजमार्ग भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । साना तथा मझौला सवारीसाधनलाई दमौलीबाट तालघारे हुँदै रानीगाउँ निस्कन तथा घाँसीकुवाबाट रानीगाउँ हुँदै तनहुँको डुम्रे तर्फ निस्कने बाटो प्रयोग गर्न आग्रह गरिएको छ । यसैगरी हेभी सवारीसाधनलाई डुम्रे बेंसीसहर लमजुङ सडक खण्ड हुँदै पोखरा जाने मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।