२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

चितवनका व्यवसायीले नारायणगढ बजार २४ सै घण्टा खुला गर्न माग गरे

Logo
रिता थापा प्रकाशित आइतबार, भाद्र ०९, २०८१

 

चितवन । शनिवार नारायणगढमा सम्पन्न होटेल व्यवसायी सङ्घ चितवनको २८औँ साधारण सभामा व्यवसायीले नारायणगढ बजार सुनसानझैँ भएकाले चहलपहल बढाउन २४सै घण्टा होटेल तथा बजार खुला राख्न माग गरेका हुन् ।

विगतमा नारायणगढको पूल्चोक बजार सधैँ खुला रहेको स्मरण गर्दै होटेल व्यवसायी सङ्घ चितवनका पूर्व अध्यक्ष इमान्दु बरालले देशकै केन्द्रबिन्दुमा रहेको पुलचोक फेरि २४सै घण्टा खुला राख्नुपर्ने बताए । उनले भरतपुर भ्रमण वर्षले यहाँका होटेलको अवस्थामा केही सुधार भएको उल्लेख गरे ।

होटेलमा दक्ष जनशक्तिको अभावका कारण व्यवसाय सञ्चालन गर्न समस्या हुने गरेको उनको भनाइ थियो । ‘होटेलमा केही समय काम गर्न आउने सिक्ने अनि विदेशतिर जानेको जमात धेरै छ । अहिले होटेल विदेश जानका लागि तयार गर्ने थलोजस्तो भएको छ’, उनले भने ।

उनले देशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा चिनिएको नारायणगढ बजार अहिले ७० प्रतिशत खाली रहेको जानकारी दिए । पार्किङको समस्याले गर्दा पनि व्यवसायी पलायन हुने अवस्था भएको उनले बताए । नारायणी नदी किनारमा रहेका साना अव्यवस्थित घुम्ती होटेललाई व्यवस्थित गरी नारायणी किनारलाई सुन्दर बनाएर नारायणगढको पहिचानको रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

बरालले बजारलाई चलायमान बनाउन २४सै घण्टा खुलाएर सेवा दिनुपर्ने धारणा राखे । उद्योग वाणिज्य सङ्घ चितवनका कार्यवाहक अध्यक्ष चिरञ्जीवी सुवेदीले भरतपुर भ्रमण वर्षले प्रत्यक्ष फाइदा होटेल व्यवसायीलाई भएको र अप्रत्यक्ष रूपमा सबै व्यवसायीलाई फाइदा भएको बताए ।

सुवेदीले नारायणगढ बजारको अवस्था पार्किङको कारणले अस्तव्यस्त भएको हुँदा वैकल्पिक व्यवस्था गरिनुपर्ने बताए । सङ्घले व्यवसायीहरूको समस्या समाधानका लागि विभिन्न काम गर्दै आएको र समस्या समाधानमा सबै व्यवसायी जुट्नुपर्ने उनको भनाइ थियो ।

होटेल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेले जुनसुकै व्यवसायमा पनि काम गर्ने जनशक्ति अभाव रहेको उल्लेख गरे । उनले जनशक्ति उत्पादनका लागि एकद्वार प्रणालीबाट तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

स्थानीय तहहरूले दिने तालिममा होटेल व्यवसायी संलग्न भएर तालिम लिने वातावरण हुनुपर्ने र यसलाई व्यावहारिक बनाउनुपर्ने बताए । उनले भने, ‘तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । जसले गर्दा तालिम लिएका आधा बाहिर गए पनि आधा जनशक्तिले यहीँ काम गर्ने अवसर पाउँछन् ।’

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भरतपुर भ्रमण वर्षले यहाँका होटेल व्यवसायीलाई टेवा पुगेको बताइन् । उनले यहाँको होटेल तथा पर्यटन चलायमान बनाउन भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रमार्फत पाटे बाघ हेर्ने सुविधा, भारतीय पर्यटकलाई सहज आवागमनका लागि ठोरी भन्सार सञ्चालन, दियालो बङ्गला दरबार खुला गरिएको जानकारी दिइन् ।

भ्रमण वर्षकै अवसरमा आगामी कात्तिकमा धार्मिक महोत्सव गर्न लागिएको जानकारीसमेत उनले दिइन् । त्यसै गरी भ्रमण वर्ष समापनमा खाना महोत्सव गरिने उनले बताइन् । नारायणगढमा भएको पार्किङलगायतका समस्या समाधान गर्न स्थानीय, व्यवसायी र महानगरको छलफलबाट समाधान खोजिने आश्वासन उनले दिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

error: Content is protected !!