२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

विष्णु माझीको गीत सार्वजनिक भएलगत्तै भाइरल किन हुन्छ को हुन त माझी ???

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, भाद्र २१, २०८१

 

काठमाडौं । तीजको सन्दर्भमा उटपट्याङ गीतहरुले होहल्ला मच्चाइरहँदा अनायास विष्णु माझीको सुरिलो भाका गुञ्जिएको थियो । जसै उनको आवाज गुन्जियो, अरु तीज गीत लाखापाखा लागे । तब पारखीहरु भन्न लागे, ‘अब पो तीज सुरु भयो । तीज र विष्णु माझी एकापसमा पर्याय जस्तै छन् । जब जब गाउँशहरलाई तीजले छोप्न थाल्छ, विष्णु माझीको सुरिलो भाकाले त्यसमा रौनक थपिदिन्छ ।

सबैलाई थाहा छ, बितेको दुई दशकदेखि अविच्छिन्न नेपाली लोक गायनको अग्रस्थानमा छिन् उनी । पाँच हजार बढी गीतमा आवाज दिएकी छिन् । त्यसमध्ये धेरैजसो गीत सर्वाधिक रुचाइएका छन् । युट्युबको करोड क्लबमा पुगेर गीतले कीर्तिमान बनाएका छन् । धेरैलाई थाहा छैन, उनी कहाँ बस्छिन् ? कस्तो जीवनशैली अपनाउँछिन् ? आफ्नो गायकी र संगीतको विषयमा कस्तो धारणा राख्छिन् ?

किनभने उनको जीवन रहस्य र गुपचुपमा छ । चर्चाको शिखरमा छिन्, तर गुमनाम पनि । करिअरको सुरुवातीदेखि नै भूमिगत जीवन बाँचिरहेकी छिन् उनी । दुई दशकदेखि निरन्तर चर्चामा रहँदा पनि न उनी कतै देखा पर्दिनन् । वर्षमा आउने एकाध गीत बाहेक उनी कतै सुनिंदिनन् । न कतै सार्वजनिक कार्यक्रममा नै देखा पर्छिन्, न मिडियामा नै देखिन्छिन् । न त उनको रहस्यमय जीवनबारे धेरै कुरा बाहिर नै आउँछन् । धेरै वर्षदेखि गायिका विष्णुको गुमनाम जीवनमाथि उठिरहेको प्रश्न हो, उनको भूमिगत जीवन स्वेच्छा हो कि परिबन्ध ? आजसम्म पनि यो प्रश्नको जवाफ अनुत्तरित छ ।
कस्तो थियो उनको बाल्यकाल ?
स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाट हो विष्णु माझीको जन्मघर । सन् १९८६ जुनमा जन्मिएकी उनका एक दाइ र बहिनी छन् । उनका दाइ गाउँमै छन् भने बहिनी जीवन माझी पनि गायिका हुन् । केही वर्षअघिमात्र उनका बुबा–आमा दुवैको मृत्यु भएको थियो । सानैदेखि गाउँघर र स्थानीय लोकदोहोरी गीत प्रतियोगितामा गीत गाउँथिन् । स्वर सुरिलो र मीठो थियो । तर विष्णुको घरको आर्थिक अवस्था भने एकदमै कमजोर । त्यही कारण कक्षा ९ भन्दा माथि पढ्न पाइनन् उनले ।

मीठो गाउने भएकाले विष्णु १३ वर्षकै उमेरदेखि लोकगीत प्रतियोगिताहरुमा भाग लिन थालेकी थिइन् । उनको स्वरबाट प्रभावित थिए, गायक नारायण लेकाली । उनको घर विष्णुको गाउँदेखि केही परको अर्को गाउँमा थियो । नारायण गीत गाउनुका साथै लोकदोहोरी प्रतियोगिता पनि आयोजना गरिरहन्थे । उनैले विष्णुलाई गायन क्षेत्रमा ल्याए । विष्णुलाई लोकगीत प्रतियोगिताहरुमा नारायणले लिएर जान्थे । ती सबैजसो प्रतियोगितामा विष्णु प्रथम हुन्थिन् ।

तर विष्णुको जीवनमा तब अर्को मोड आउँछ, जब उनको भेट पोखेरेली गायक सुन्दरमणि अधिकारीसँग हुन्छ । गायक लेकालीका अनुसार विष्णु र सुन्दरमणिको भेट २०६१ सालमा लेकालीले पाल्पा उद्योग वाणिज्य महासंघले आयोजना गरेको लोकदोहोरी प्रतियोगितामा भएको थियो । सुन्दरमणि पनि प्रतियोगितामा सहभागी हुन पुगेका थिए । प्रतियोगितामा विष्णु दोस्रो भइन् भने सुन्दरमणिले कुनै स्थान जित्न सकेनन् । त्यसैबेला विष्णुको स्वरबाट सुन्दरमणि प्रभावित भएका थिए । गीत गाउने गरेपनि सुन्दरमणि चिनिन सकेका थिएनन् ।

त्यसको केही समयपछि पोखरामा लेखनाथ महोत्सवमा हुँदै थियो । जसमा विष्णु र सुन्दरमणि भाग लिन सहभागी हुँदै थिए । विष्णुको प्रतिभा देखेका सुन्दरमणिले नारायण लेकालीसँग आफ्नो जोडी बनाइदिन आग्रह गरे । ‘सुन्दरमणिले विष्णुसँग जोडी मिलाइदिन भनेर भनेको भन्यै गरे’ लेकालीले एक अन्तर्वार्तामा भनेका छन्, ‘त्यो बेला विष्णुसँग जोडी मिलाइदिन भनेर धेरै नै हत्तै गरेपछि मैले मानें ।’
नारायणले विष्णुको परिवारसँग आफू जिम्मा बसेर सुन्दरमणिसँग उनलाई प्रतियोगितामा सहभागी हुन भनेर पठाएका थिए । सुन्दरमणिले एक हप्ताका लागि भनेर लेखनाथ महोत्सवमा विष्णुलाई लिएर गए । विष्णुको साथले जितिन्छ भन्ने थाहा पाएका सुन्दरमणि ढुक्क थिए । नभन्दै भयो त्यही । महोत्सवमा आयोजित लोकगीत प्रतियोगितामा सुन्दरमणि र विष्णुको जोडी पहिलो भयो । त्यही बेला विष्णुको साथले आफ्नो करिअर पनि उचाइमा पुग्छ भन्ने सुन्दरमणिले बुझे ।

एक साताका लागि भनेर विष्णुलाई लिएर गएका उनी डेढ वर्षपछि मात्र घर फर्काए । प्रतियोगिता जितेपछि सुन्दरमणिले विष्णुलाई काठमाडौं ल्याएका थिए । त्यती बेला उनी मात्र १५ वर्षकी थिइन् । त्यसको एक वर्षपछि मात्र पोखराको एक प्रतियोगितामा विष्णु र सुन्दरमणिलाई भेटेका थिए नारायणले । त्यसपछि भने विष्णुसँग कहिल्यै भेट नभएको उनी सुनाउँछन् ।

कसरी सुरु गरिन् गायन ?
काठमाडौं आएपछि सुन्दरमणिले विष्णुलाई आफैंसँग राखे । परिवारसँग पनि सम्पर्कमा आइनन् उनी । तर सुन्दरमणिले विवाह भने गरेका थिएनन् । काठमाडौं आइसकेपछि विष्णुको व्यावसायिक गायन यात्रा सुरु भयो । सुरिलो स्वरकी धनी विष्णु सबैको नजरमा परिन् । विस्तारै विष्णुका गीतहरु हिट हुँदै गए । उनको व्यस्तता बढ्न थाल्यो । त्यतिबेला नेपाली लोकसंगीतमा बीमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, सिर्जना विरही थापा, शर्मिला गुरुङ जस्ता समकालीन गायिकाहरुलाई पछि पार्दै विष्णु अगाडि बढ्दै गइन् । उनको माग यसरी बढ्यो कि त्यसबेला दिनमै ६–७ वटा गीत रेकर्ड गराउन थालिन् ।
२०६४ सालसम्म आइपुग्दा उनी चर्चाको शिखरमा पुगिन् । त्यसपछिका दिनमा लोकगीतमा उनको एक किसिमको राज नै चल्यो । शीतलदेखि पीपल सामी छ, ड्राइभर दाइ मन प¥यो मलाई, लालुपाते झुक्यो भुईंतिर, ए आमा हो, पछ्यौरी लेऊ बैना, कसलाई सोध्ने होला जस्ता गीत उनका लोकप्रिय भए । कुन गीत गाउने, कुन नगाउने सबै निर्णय सुन्दरमणिले नै गर्थे । एकपछि अर्को गीत हिट दिइरहे पनि विष्णु भने करिअरको सुरुवाती दिनदेखि नै ‘भूमिगत’ थिइन् । विष्णुको सबै जिम्मेवारी भने सुन्दरमणिले नै सम्हाल्थे । संगीतकारहरुले विष्णुलाई गीत गाउन लगाउनुपरे सुन्दरमणिसँग नै डिल गर्थे । पारिश्रमिक पनि उनी नै बुझ्थे । आज पर्यन्त पनि यो क्रम जारी छ ।

सुन्दरमणि विष्णुलाई कसैसँग भेट गर्न पनि दिंदैनथे । अरुसँग बोलेको पनि मन पराउँदैनथे । विष्णु पनि खासै नबोल्ने स्वभावकी रहेको उनीसँग काम गरेका संगीतकर्मीहरु बताउँछन् ।उनी सुन्दरमणिको पछि लागेर स्टुडियोमा गीत रेकर्ड गर्न पुग्थिन् । ‘पछ्यौरीले मुख छोपेरै गीत रेकर्डका लागि आइपुग्थिन्’ उनी निकट गायक भन्छन्, ‘रेकर्ड गर्न आउँदा पनि उनी धेरै बोल्दैन थिइन् ।’

यो क्रम पछिसम्म पनि चलिरह्यो । विष्णु गुमनाम जीवन नै बाँचिरहिन् । तर उनले एकपछि अर्को हिट गीत दिइरहिन् । पछिल्लो समयसम्म आइपुग्दा सालको पात, चरी जेलैमा जस्ता गीत उनका निकै लोकप्रिय भए । यो वर्ष मात्रै उनले लिएर आइन् तीज गीत– ‘आइन आमा यो तीजैमा’ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

error: Content is protected !!