दाङ । भालुवाङ पिट्ठिउँमा हातैले तयार पारेका काठका केही थान भाँडाका भारी बोकेका । हेर्दा मगर जातिको पोसाकजस्तो देखिने नसिलाएको सेतो रङ्गको पुरानो मैलो कपडाको पहिरन । पातलो शारीरिक बनावट झुस्स दाह्री । राम्रोसँग नेपाली कुरा गर्न आउँदैन उनलाई । टाउकोमा नेपाली ढाका टोपी । अनि खुट्टामा प्लास्टिकका चप्पल लगाएका । ६० वसन्तको उमेर पार भएका दिलबहादुर शाही कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आइपुगे । शाही त्यसरी देउखुरी झर्नुको उद्देश्य खासगरी दसैं खर्च माग्न रहेछ । आउँदा साथमा शाहीले मुख्यमन्त्रीलाई उपहार दिनका लागि हातले बनाएको काठको कोसी ल्याएका रहेछन् ।
शाहीले जंगलमा पाइने गिठी प्रजातीको रुखको काठबाट आफैंले हातले कुँदेर बनाएको कोसी मुख्यमन्त्री आचार्यलाई उपहार दिए । कर्णाली प्रदेशको सुर्खेत निवासी दिलबहादुर शाही मुख्यमन्त्रीलाई भेट्न बुधवार अपरान्ह मुख्यमन्त्री कार्यालय राप्ती उपत्यका देउखुरी पुगेका थिए । उपहार दिंदै मुख्यमन्त्री आचार्यसित उनलेे भने, ‘यो काठको कोसी हो । हातैले बनाएको । यस्तो कोसी बनाउन थालेको धेरै वर्ष भइसक्यो । ‘मुख्यमन्त्री ज्यू, दसैं त आईहाल्यो । खर्च चाहियो ।’
सुर्खेतबाट दसैंखर्च माग्न यसपाली शाही अरु कोही कसैलाई साथमा नल्याई एक्लै लुम्बिनी प्रदेशसम्म आइपुगेका छन् । मुख्यमन्त्री आचार्यले दसहजार रकम दिएका छन् ।
‘साथीहरु आउन थालेका थिए । गाडी चढ्न डराए’ दिलबहादुरले कुरा स्पष्ट पार्दै भने ,‘बरु मरे मै मरुला भनेर आएँ ।’ वन जंगलमा बसोबास गर्न मन पराउने लोपोन्मुख राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेको छ । त्यसबापत मासिक चार हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन् ।
राउटे समुदाय हरेक बर्ष दसैंको खर्चको लागी प्रदेश सरकारमा धाउँदै आएका छन् । मुख्यमन्त्री आचार्यले राम्रोसंँग दसैं मनाउनका लागि दिलबहादुर शाहीमार्फत सम्पूर्ण राउटे समुदायलाई सन्देश पठाइएका छन् ।