पर्सा । बिरगंज हुस्सुले छपक्कै छोप्ने हुँदा यहाँको जनजीवन त्यति सहज छैन । विशेष गरेर बिहानीको समय चिसोले थप कष्टकर बनाइदिन्छ । आइतबार बिहान साढे ७ बजेतिर वीरगञ्जको जनजीवन माथि भनेजस्तै असहज थियो । हुस्सुले छपक्कै ढाक्दा सडकमा आउजाउ गर्न पनि समस्या थियो । सडकमा हिँड्डुल गर्नेहरूको वस्त्र शीतलहरले छपक्कै भिजेको देख्न सकिन्थ्यो । बाक्ला लुगा लगाएर पनि कतिपय मान्छे जाडो छल्न घण्टाघर छेउको प्रहरीबिट अगाडि आगो ताप्दै थिए ।
तर, ५२ वर्षीय सुकदेव बैठालाई भने यो जाडोको कुनै प्रवाह थिएन । उनी साइकल रिक्साको पाइडल खियाउँदै यताउति नजर डुलाउँदै थिए । सडक वरपर यात्रु खोज्न उनी ब्यस्त थिए । खुट्टामा पुराना चप्पल, टाउको र कान ढाक्ने गरी गम्छा बेरेका उनी पुरानो स्वीटरको भरमा यो जाडो कटाइरहेका छन् । उनलाई यो जाडोभन्दा पनि रिक्सा चलाएर हुने आम्दानीबाट जीवनगुजाराको चिन्ता बढी छ ।
‘यात्रु खोजे जातबानी सन । इ जार से बेसी पेटके चिन्ता बा,’ उनले भने ‘दिन प्रतिदिन थपिँदै गएको ई-रिक्साको संख्याले हाम्रो कमाइ मर्दै गएको छ ।’
उनका अनुसार दिनभर रिक्सा चलाउँदा दैनिक दुई सयदेखि पाँच सय रुपैयाँ मात्र आम्दानी हुन्छ । त्यसमध्ये डेढ सय रुपैयाँ त रिक्सा साहुलाई नै तिर्नुपर्छ । बाँकी बचेको पैसाले परिवारको जीवनगुजारा चलाउनु पर्छ । ३५ वर्षदेखि वीरगञ्जको सडकमा रिक्सा चलाउने सुकदेवलाई केहीवर्ष यता जीवन धान्न धौधौ परेको छ ।