धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढी शाखाको निरीक्षण गर्नु भएको छ । निरीक्षणको क्रममा उहाँले अस्पतालका सम्पुर्ण शाखा तथा वार्ड/ यूनिटको अवलोकन गर्नुभयो ।
निरीक्षण पश्चात अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै प्रदेश प्रहरी प्रमुख ज्यूले हरेक प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य उसको कार्य सम्पदान गर्ने सामर्थ्य र मनोबलसँग जोडिने भएकोले संगठनात्मक लक्ष्य प्राप्तिका लागि बिरामी जाँच र उपचारमा अस्पताल प्रशासन तथा कार्यरत कर्मचारीहरू संवेदनशील हुनुपर्ने बताउनुभयो । साथै उहाँले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा अस्पतालले दर्जागत विभेद विना समानता कायम गरी असल व्यवहार, उचित परामर्श, सहानुभूतिपूर्ण उपचारको माध्यमबाट सेवामा सबैको सरल र सहज पहुँच हुने वातावरणको सुनिच्चितता गर्नुपर्ने उल्लेख गर्नुभयो ।
निर्देश सम्वोधनको क्रममा प्रहरी अस्पताल प्रहरी संगठनको एक अत्यन्त महत्वपूर्ण अंग भएकोले यसको गरिमा र साखलाई कायम राख्न सौहार्दता र हार्दिकता कायम राख्दै आ-आफ्नो जिम्मेवारीप्रति कर्तव्यनिष्ठ भएर काम गर्न समेत निर्देशन दिनुभयो ।