काठमाडौं । पञ्जाब प्रहरीको एउटा टोली विना समन्वय काठमाडौं आउँदा पक्राउ परेपछि सनसनी मच्चिएको घटना सेलाउन नपाउँदै भारतीय सुरक्षा अधिकारीको अर्को टोली पनि काठमाडौंसम्म आएको खुलेको छ ।
तेलङ्गाना राज्यको हैदराबादमा भएको चोरीको घटनामा संलग्नको खोजी गर्दै डीएसपी जसवन्त सिंहको नेतृत्वमा चार जना प्रहरी अधिकृतहरू करिब एक साताअघि काठमाडौं आएको भेटिएको हो ।
‘उनीहरू बर्दी वा हतियारसहित आएका होइनन्, अनौपचारिक रुपमा सूचना लिनका लागि आएका जस्ता देखिन्छन्’, नेपाल प्रहरीका एक उच्च अधिकृतले भने, ‘काठमाडौंमा उनीहरूले मानिसहरूसँग केरकार गरेको थाहा पाएपछि उनीहरूलाई नै नियन्त्रणमा लिएर छानबिन गरेका थियौं ।’
स्रोतका अनुसार, भारतीय प्रहरीको टोली त्यहाँ घरेलु कामदारका रुपमा बसेका नेपाली जोडिएको चोरीको घटनामा अनुसन्धानका लागि नेपाल प्रवेश गरेका थिए । पहिले उनीहरू दैलेखको आठबिसकोट नगरपालिका–५ पुगेका थिए । त्यहाँ चोरीमा संलग्न आरोपी फेला नपारेपछि केही नेपालीलाई लिएर उनीहरू बसेको ठाउँ खोज्दै काठमाडौंसम्म आएको पाइएको ती अधिकृत बताउँछन् ।अनलाइन खबर