२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न पत्रकार महासंघ लुम्बिनीको आग्रह,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर ०५, २०८२

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न पत्रकार महासंघ लुम्बिनीको आग्रह

भालुबाङ, ५ मंसिर । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सबै पक्षलाई आग्रह गरेको छ ।

महासङ्घ लुम्बिनी प्रदेश समितिको शुक्रबार बिहान भालुवाङमा बसेको बैठकले पछिल्लो समय पत्रकारहरूलाई सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट निरुत्साहित पार्ने गतिविधि बढ्दै गएको निष्कर्ष निकालेको महासचिव पाण्डव शर्माले जानकारी दिनुभयो । अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षतामा बसेको बैठकले सबै पत्रकारहरूलाई पत्रकार आचारसंहिताको पूर्णपालना गर्दै निर्भीकतापूर्वक आफ्नो दायित्व निर्वाह गर्न अनुरोध गरेको छ ।

“पछिल्लो समय आफूलाई मन नपर्ने राजनीतिक दलसँग सम्बन्धित समाचारहरू प्रकाशित वा प्रसारित भएलगत्तै सामाजिक सञ्जालमा केही व्यक्तिहरूले पत्रकारहरूलाई गालीगलौज र अपशब्द प्रयोग गर्ने, मानसिक रूपमा त्रास सिर्जना गर्ने कार्य भइरहेको छ,” महासचिव शर्माले भन्नुभयो, “प्रेसमाथि भइरहेका यस्ता मनोवैज्ञानिक आक्रमणले लोकतन्त्र तथा मानवअधिकारमै आँच पुर्‍याइरहेको छ।”

कुनै पनि सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबुझेमा कानुनी तथा न्यायिक प्रक्रियामार्फत समाधान गर्न सकिने पर्याप्त माध्यमहरू उपलब्ध रहेको उल्लेख गर्दै महासङ्घले ती विकल्पको प्रयोग गर्न आम जनसमुदायलाई आग्रह गरेको छ ।

बैठकले पत्रकार महासङ्घले घोषणा गरेको प्रदेशस्तरीय कल्याणकारी कोषका लागि आवश्यक स्रोत वृद्धि गर्ने विषयमा सरकार तथा सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको छ । साथै लुम्बिनी प्रदेश सरकारले सञ्चार क्षेत्रमा विनियोजन गरेको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, प्रदेशका सबै जिल्लामा समानुपातिक तथा समावेशी ढङ्गले वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस उद्देश्यका लागि सचिव गोविन्द प्रसाद शर्माको संयोजकत्वमा कोषाध्यक्ष प्रेम नारायण आचार्य र कार्यसमिति सदस्य निर्मल आचार्य रहेको तीन सदस्यीय समिति गठन गरिएको छ । बैठकले चालु आर्थिक वर्षमा विनियोजित बजेट सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूको हितमा अधिकतम प्रयोग हुने गरी प्रदेश सरकारसँग आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]