सिरहा । लहान शनिवार राति करिब साढे नौ बजे लहान नगरपालिका १ स्थित पूर्वपश्चिम लोकमार्गको ट्राफिक चौकी नजिक इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले मिर्चैयाबाट रूपनीतर्फ जाँदै गरेको ना.५ ख ३२०९ नम्बरको ट्रकलाई रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा चालक बस्ने क्याबिनमुनि विशेष रूपमा फल्स बटम अर्थात् लुकाउने खालको दोहोरो भुईँ बनाइएको र त्यसभित्र सेतो प्लास्टिकका ३१ वटा बोरामा गाँजा जस्तो देखिने पदार्थ लुकाई छिपाइ राखिएको अवस्थामा फेला परेको प्रहरीले दाबी गरेको छ । बोरासहित तौल गर्दा कुल एक हजार १५ किलोग्राम ३०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
प्रहरीले ट्रक चालक सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ छिपिधारा टोल बस्ने २४ वर्षीय टङ्क विश्वकर्मा र सहचालक धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ बस्ने २२ वर्षीय खेम राना मगरलाई गाँजा र ट्रकसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय लहानमा ल्याई मङ्सिर ७ गते सिराहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिए ।