दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक दाङको बबई गाउँपालिका–३ निवासी २९ वर्षीय गणेश ओलीको बायाँ खुट्टा भाँचिएको र बायाँ हातमा चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।
त्यहापनी उपचार सम्भव नभएपछि हाल उनी भारतको लखनउस्थित आशिर्बाद सिटी अस्पतालमा उपचाररत छन । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यस्तै, मोटरसाइकलको पछाडि सवार सल्यानको कालिमाटी गाउँपालिका–३ निवासी २३ वर्षीय भिषण पुन मगरको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । राप्ती प्रादेशिक अस्पतालमा ल्याई डाक्टरले जाँच गर्दा गएराति करिब ८ः३५ बजे मृत घोषणा गरिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल, ट्रक र ट्रक चालक दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरीगै निवासी २९ वर्षीय साजन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।