दोलखा । तामाकोशी गाउँपालिका ४ स्थित गोलेश्वर माध्यमिक विद्यालय मतदानस्थलबाट लुटिएका मतपत्रमध्ये ४५ वटा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मनोजकुमार लामाका अनुसार, मतदान प्रक्रिया चलिरहेका बेला ५४ वटा मतपत्र लुटिएको थियो।
प्रहरीले तत्काल खोजी कार्य अगाडि बढाउँदा ४५ वटा मतपत्र फेला परेको र बाँकी ९ वटाको खोजी कार्य अझै जारी रहेको जानकारी दिएको छ।
मतदानस्थलमा स्थित तनावपूर्ण बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो। त्यहाँ मतदान अधिकृत र अन्य कर्मचारीहरूमाथि हातपातसमेत गरिएको थियो।
दोलखाका अन्य मतदानस्थलमा भने मतदान प्रक्रिया सामान्य रूपमा चलिरहेको छ। निर्वाचन आयोगका अनुसार आज दिउँसो ३ बजेसम्म जिल्लामा ४१.८९ प्रतिशत मतदान सम्पन्न भइसकेको छ।