काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो।
यद्यपि, संघीय शासन व्यवस्थाको अभ्याससँगै तल्लो तहका प्रहरी कर्मचारीहरूको एउटा जायज अपेक्षा पनि देखिएको छ– सम्भव भएसम्म आफ्नै प्रदेश वा नजिकको क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त होस्। यो कुनै अतिरिक्त सुविधा वा विशेष अधिकारको मागभन्दा पनि पारिवारिक जिम्मेवारी, मानसिक सन्तुलन, कर्मचारीको मनोबल र प्रभावकारी कार्यसम्पादनसँग जोडिएको विषय हो।
नेपाल प्रहरी राष्ट्रिय संगठन भएकाले प्रत्येक प्रहरी कर्मचारी देशको जुनसुकै भूगोलमा सेवा गर्न सदैव तयार रहनुपर्छ। नेपाल प्रहरीको गौरवशाली इतिहास त्याग, अनुशासन र राष्ट्रप्रतिको समर्पणले भरिएको छ। त्यसैले सबैलाई आफ्नै जिल्ला वा प्रदेशमा राख्नु व्यावहारिक रूपमा सम्भव नहुन सक्छ। तर, संगठनको आवश्यकतामा प्रतिकूल असर नपर्ने गरी सम्भव भएसम्म आफ्नै प्रदेश वा छिमेकी क्षेत्रमा पदस्थापनाको नीति अवलम्बन गर्न सकिए यसले कर्मचारीको मनोबल बढाउने, पारिवारिक स्थायित्व कायम गर्ने तथा सेवाको गुणस्तरमा समेत सकारात्मक प्रभाव पार्ने देखिन्छ।
यस विषयलाई नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सकारात्मक रूपमा बुझ्नुभएको चर्चा प्रहरी संगठनभित्र हुने गरेको छ। संगठनको आवश्यकता र प्रहरी कर्मचारीहरूको जायज अपेक्षाबीच सन्तुलन कायम गर्दै, सम्भव भएसम्म प्रदेश मिलानको अवधारणालाई व्यवहारमा उतार्नुपर्ने सोचले प्रहरी कर्मचारीहरूमा आशा र उत्साह थपेको देखिन्छ।
प्रहरी महानिरीक्षक कार्कीको नेतृत्वको एउटा महत्वपूर्ण विशेषता भनेको उहाँको अध्ययनशीलता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा मामिलाप्रतिको गहिरो बुझाइ र संगठनका सबै तहसँगको निरन्तर सम्पर्क हो। आजको प्रहरी संगठनलाई केवल प्रशासनिक नेतृत्वले मात्र होइन, आधुनिक व्यवस्थापन, रणनीतिक सोच र प्रभावकारी मानव संसाधन व्यवस्थापनले समेत सफल बनाउँछ। यही पक्षलाई आत्मसात् गर्दै उहाँले संगठनलाई गतिशील बनाउने प्रयास गरिरहनुभएको अनुभूति धेरै प्रहरी कर्मचारीहरूले गरेका छन्।
विशेषगरी चुनौतीपूर्ण राष्ट्रिय परिस्थितिहरूमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाले संगठनको व्यावसायिक क्षमतालाई थप स्थापित गरेको छ। संघीय लोकतान्त्रिक व्यवस्थाअन्तर्गत सम्पन्न भएका विभिन्न निर्वाचनहरू तथा अन्य संवेदनशील सुरक्षा जिम्मेवारीहरूलाई नेपाल प्रहरीले सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा संगठनको सम्पूर्ण तहको मेहनतसँगै नेतृत्वको समन्वयकारी भूमिका पनि महत्वपूर्ण रहेको देखिन्छ। कठिन परिस्थितिमा समेत राज्यले नेपाल प्रहरीलाई सुम्पिएका जिम्मेवारीहरू सफलतापूर्वक पूरा गर्नु संगठनको संस्थागत क्षमताको परिचायक हो।
प्रहरी महानिरीक्षक कार्कीको अर्को उल्लेखनीय पक्ष भनेको उहाँको सहज, सरल र संवादमुखी कार्यशैली हो। आधुनिक नेतृत्वको मूल्य केवल पदको गरिमाबाट मात्र होइन, संगठनभित्रको पहुँच र सम्पर्कबाट पनि मापन गरिन्छ। प्रहरी संगठनका विभिन्न तहका कर्मचारी, अवकाशप्राप्त प्रहरी अधिकृत तथा सरोकारवालाहरूसँग समेत सम्भव भएसम्म प्रत्यक्ष संवाद गर्ने र सुझावलाई सुन्ने उहाँको कार्यशैली धेरैका लागि सकारात्मक उदाहरण बनेको छ।
आजको समयमा कतिपय अवस्थामा तल्लो तहका अधिकारीहरूसम्म सहज सम्पर्क स्थापित गर्न कठिन भएको गुनासो सुनिने गर्दछ। यस्तो परिवेशमा संगठनको सर्वोच्च नेतृत्वबाट सहज रूपमा संवाद गर्ने, सुझाव र अनुभवलाई सम्मान गर्ने संस्कृतिलाई प्रोत्साहन दिनु नेतृत्वको एउटा प्रशंसनीय गुण मान्न सकिन्छ। हामीजस्ता पूर्व प्रहरी अधिकृतहरूले समेत आवश्यक परामर्श वा जिज्ञासाका क्रममा सहज रूपमा आफ्नो कुरा राख्न सक्ने वातावरण निर्माण हुनु संगठन र नेतृत्वबीचको विश्वासको सम्बन्धको एउटा सकारात्मक पक्ष हो।
प्रहरी कर्मचारी पनि समाजकै सदस्य हुन्। उनीहरूका पनि परिवार, सामाजिक उत्तरदायित्व र व्यक्तिगत दुःख–सुख हुन्छन्। यही यथार्थलाई बुझेर संगठनको आवश्यकता र कर्मचारीहरूको मनोबलबीच उचित सन्तुलन कायम गर्ने प्रयासले प्रहरी संगठनलाई थप बलियो बनाउँछ। वास्तवमा, खुसी, सन्तुष्ट र मानसिक रूपमा सन्तुलित प्रहरी कर्मचारीले नै नागरिकलाई अझ प्रभावकारी सेवा दिन सक्छ।
संघीय नेपालको मूल मर्म नागरिक र राज्यका निकायबीचको दूरी घटाउनु तथा प्रशासनिक संरचनालाई स्थानीय आवश्यकतासँग जोड्नु हो। प्रहरी संगठनमा पनि यही अवधारणालाई व्यावसायिक, सन्तुलित र व्यवहारिक रूपमा कार्यान्वयन गर्न सकिएमा त्यसबाट प्रहरी कर्मचारी, संगठन र आम नागरिक सबै लाभान्वित हुनेछन्।
अन्ततः, एउटा सफल प्रहरी नेतृत्व त्यो मात्र होइन जसले संगठन सञ्चालन गर्छ, बरु त्यो हो जसले संगठनको आवश्यकता र मातहतका कर्मचारीहरूको भावना दुवैलाई समान रूपमा सम्मान गर्छ; राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीहरूलाई गहिरो रूपमा बुझ्छ; कठिन परिस्थितिमा संस्थालाई सफलतापूर्वक नेतृत्व दिन्छ; र संगठनको तल्लो तहदेखि अवकाशप्राप्त सदस्यहरूसम्मसँग आत्मीय सम्बन्ध कायम राख्दै विश्वासको वातावरण निर्माण गर्छ।
वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीले व्यावसायिकता, अनुशासन, मानवीय संवेदनशीलता र समन्वयकारी नेतृत्वको संस्कृतिलाई थप सुदृढ बनाउने प्रयास गरिरहेको अनुभूति हुने गरेको छ। यदि संगठनको आवश्यकता र प्रहरी कर्मचारीहरूको जायज अपेक्षाबीच यस्तै सन्तुलित दृष्टिकोणलाई निरन्तरता दिन सकियो भने, नेपाल प्रहरी अझ सक्षम, जनविश्वासिलो र आधुनिक संगठनका रूपमा स्थापित हुँदै जानेमा दुईमत नहोला। पुर्व नेपाल प्रहरी एसपी राजेन्द्रबाबू रेग्मी