नवलपरासी । नारायणघाट बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो।
गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा सवारीसाधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो । विशेषगरी बर्खा र हिउँदमा हजारौँ यात्रुले घण्टौँ सडकमै बस्नुपर्ने अवस्था थियो।
तर यस वर्ष सडकको अधिकांश भाग कालोपत्र भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो सास्ती भोग्नुपरेको छैन।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको तथ्याङ्क रहेको छ । तर यस वर्ष त्यो अवस्था हटेको छ । दैनिक रूपमा यही सडक प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरू पनि यस वर्षको अवस्था विगतभन्दा फरक रहेको बताउँछन्।
यस राजमार्गमा नियमित सवारीसाधन चलाउँदै आएका रामु भुसालले पहिले दाउन्ने पार गर्नै घण्टौँ लाग्ने गरेको स्मरण गर्दै अहिले सहज रूपमा यात्रा गर्न पाइएकामा खुसी व्यक्त गरे। ‘गत वर्ष पानी पर्ने बित्तिक्कै दाउन्नेको जाममा फसिन्थ्यो । अहिले सडक फराकिलो र कालोपत्र भएकाले यात्रा सहज भएको छ । यात्राको समय पनि घटेको छ’, उनले भने।
दाउन्ने क्षेत्रमा सहजरुपमा यातायात सञ्चालन हुन थालेपछि स्थानीय बासिन्दा, व्यवसायी र यात्रुले राहत महसुस गरेका बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए।
‘दाउन्नेको समस्या राष्ट्रिय चिन्ताको विषय बनेको थियो । अहिले सडक विस्तार अन्तिम चरणमा पुग्दा आवागमन सहज भएको छ । यसले स्थानीय अर्थतन्त्र, पर्यटन र दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्न थालेको छ’, उनले भने।
गत वर्षको तुलनामा यस वर्ष दाउन्ने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।