०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

घोराही बनाऔँ अभियान जोखिमयुक्त बस्तीमा पुग्यो, नदीखोलाका स्थानीयलाई सुरक्षित रहन आग्रह,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, आश्विन ०८, २०८३

दाङ । घोराही प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिकाका नदी तथा खोलाको आसपासमा रहेका जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले विभिन्न जोखिमयुक्त टोल तथा बस्तीमा पुगेर स्थानीयवासीको अवस्था बुझ्नुका साथै सम्भावित विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। टोलीमा पत्रकार श्री चौधरी, सुदन थापालगायत सहभागी हुनुहुन्थ्यो।
पछिल्लो समय मौसममा आएको परिवर्तनसँगै लगातार वर्षा हुन सक्ने तथा नदीखोलामा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै अभियानले जोखिममा रहेका बस्तीका नागरिकलाई सचेत गराएको हो। अभियानको टोलीले विशेषगरी नदी तथा खोलाको किनार, तल्लो भूभाग र डुबान तथा कटानको सम्भावना भएका क्षेत्रमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गरेको थियो।
स्थानीयवासीले सरकारले पछिल्लो पटक जारी गरेको सतर्कता अपनाउनसम्बन्धी सूचना आफूहरूले प्राप्त गरेको भए पनि सुरक्षित स्थानमा जाने ठाउँको अभावका कारण जोखिमकै बीचमा बस्न बाध्य भएको बताएका छन्। उनीहरूले सम्बन्धित निकायले केही दिनका लागि बस्न मिल्ने सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने मागसमेत गरेका छन्।
एक स्थानीयवासीले भने, “हामीलाई जोखिमबारे थाहा छ। सरकारले पनि सतर्क रहन सूचना दिएको छ। तर घर छोडेर जाने ठाउँ छैन। परिवार र बालबालिकालाई लिएर कहाँ जाने भन्ने समस्या छ। सुरक्षित ठाउँमा केही दिन बस्ने व्यवस्था भए हामी तत्कालै सर्न तयार छौँ।”
अर्का स्थानीयले विपद् आएको समयमा मात्रै उद्धार गर्नेभन्दा जोखिमको समयमा नागरिकलाई सुरक्षित स्थानमा राख्ने पूर्वतयारी आवश्यक रहेको बताए। “पानी बढेपछि भागदौड गर्नुभन्दा पहिल्यै सुरक्षित ठाउँको व्यवस्था हुनुपर्छ। हामी आफैँ पनि सचेत हुन्छौँ, तर स्थानीय तह र अन्य निकायको सहयोग आवश्यक छ,” उनले भने।
अभियानका संयोजक प्रियासनले विपद्को जोखिमलाई सामान्य रूपमा नलिन स्थानीयवासीलाई आग्रह गर्नुभयो। उहाँले सम्भावित जोखिमको पूर्वानुमान गरी समयमै सुरक्षित स्थानतर्फ जानुपर्ने बताउनुभयो।
“प्राकृतिक विपत्ति कसैलाई पर्खेर आउँदैन। जोखिम देखिएको ठाउँमा सकेसम्म सुरक्षित स्थानमा सर्नुपर्छ। तत्काल घर छोड्न सम्भव नभए पनि परिवारका सदस्यहरूबीच समन्वय गरेर सतर्क रहनुपर्छ। विशेषगरी नदी, खोला र पहिरोको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत गर्नु हुँदैन,” प्रियासनले भन्नुभयो।
उहाँले जोखिमयुक्त बस्तीमा रहेका युवाहरूलाई विपद्को समयमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। रातको समयमा मात्रै नभई दिउँसो पनि नदीखोला तथा आसपासको अवस्था निगरानी गर्न, जोखिममा रहेका परिवारको पहिचान गर्न तथा बालबालिका, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन उहाँले अनुरोध गर्नुभयो।
“विपद् आएपछि उद्धार गर्नुभन्दा विपद् आउनुअघि नै तयारी गर्नु महत्वपूर्ण हुन्छ। प्रत्येक टोलका युवाहरू जागरुक भएर आफ्नो टोलको अवस्थाबारे जानकारी राख्नुपर्छ। रातको समयमा पालैपालो निगरानी गर्न सकिन्छ। कुनै असामान्य अवस्था देखिए तत्काल सम्बन्धित निकायलाई खबर गर्नुपर्छ,” प्रियासनले भन्नुभयो।
घोराही बनाऔँ अभियानको टोली पुगेका कतिपय टोलका स्थानीयवासीले अभियानले दिएको सुझावअनुसार थप सतर्कता अपनाउने बताएका छन्। उनीहरूले टोलका नागरिकबीच समन्वय गर्ने, जोखिममा रहेका परिवारको अवस्थाबारे जानकारी राख्ने तथा पानीको बहाव बढेमा तत्काल सुरक्षित स्थानतर्फ जाने बताएका छन्।
स्थानीयवासीले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि सम्बन्धित निकायले अस्थायी आश्रयस्थलको पहिचान गरी आवश्यक परेका बेला तत्काल स्थानान्तरण गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन्। उनीहरूले सुरक्षित स्थान, खानेपानी, शौचालय, विद्युत् तथा आधारभूत आवश्यकताको समेत पूर्वव्यवस्था हुनुपर्ने माग गरेका छन्।
घोराही बनाऔँ अभियानले विपद् व्यवस्थापनमा सरकार र सुरक्षा निकायको मात्रै जिम्मेवारी नभई समुदायको समेत महत्वपूर्ण भूमिका रहने जनाएको छ। अभियानले स्थानीय तह, वडा कार्यालय, टोल विकास संस्था, सुरक्षा निकाय, युवा समूह र नागरिकबीच निरन्तर समन्वय हुनुपर्नेमा जोड दिएको छ।
“समस्या आएपछि समाधान खोज्नेभन्दा समस्या आउनुअघि नै तयारी गरौँ। एउटा परिवार सुरक्षित हुँदा एउटा टोल सुरक्षित हुन्छ र टोल सुरक्षित हुँदा सिङ्गो घोराही सुरक्षित बन्न सक्छ,” संयोजक प्रियासनले भन्नुभयो।
अभियानले नदी तथा खोलाको आसपास बसोबास गर्ने नागरिकलाई पानीको सतह बढेको अवस्थामा नदी वा खोला तर्न नखोज्न, बालबालिकालाई नदीखोला नजिक जान नदिन, रातिको समयमा विशेष सतर्कता अपनाउन तथा जोखिमको अवस्था देखिए तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
घोराही बनाऔँ अभियानले विपद्को समयमा सूचना आदानप्रदानलाई प्रभावकारी बनाउन टोलस्तरमा सम्पर्क व्यक्ति तोक्ने, आवश्यक परे उद्धार तथा राहतमा सहजीकरण गर्ने र जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा लैजान समुदायस्तरबाटै तयारी गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिकाका नदी तथा खोलाको आसपासमा रहेका जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले विभिन्न जोखिमयुक्त टोल तथा बस्तीमा पुगेर स्थानीयवासीको अवस्था बुझ्नुका साथै सम्भावित विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। […]

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।

पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान सफलता पुर्वक, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबार साँझ ६:१८ मा अवतरण गरेको छ । फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान बुधबार साँझ दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको […]