काठमाडौं । नेपाल प्रहरीको नियमित सरुवा रोकिएको छ। विभिन्न जिल्लाका प्रहरी इन्चार्जहरुको एक वर्ष अवधि पुगेपनि अझै सरुवा हुन सकेको छैन ।
गत वर्ष भदौको अन्तिममा विभिन्न जिल्लाका प्रमुखहरुको सरुवा भएको थियो। उनीहरु सरुवाको पर्खाईमा छन्। तर, प्रहरी नेतृत्व र गृह मन्त्रालयबिच कुरा नमिल्दा सरुवा हुन सकेको छैन ।
स्रोतका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरुवाको प्रस्ताव गरेपनि गृह नेतृत्वले केही समय पर्खन भनेको छ। प्रधानमन्त्रीको सचिवालयले पनि सरुवामा चासो राखेको छ।
प्रहरी नेतृत्वले इन्सपेक्टरदेखि डिआइजीसम्मको सरुवाको तयारी गरिरहेको छ। कर्णाली र बागमती प्रदेशका डिआइजीको सरुवा हुँदैछ। केही एसएसपीको पनि सरुवा तयारी छ।
धेरै जिल्लाका एसपीको अवधि पुगेको छ। मोरङ, कास्की, रुपन्देही, बाँके, बर्दिया, पाल्पा लगायत जिल्लाका एसपीको अवधि पुगेको छ भने पहाडी जिल्ला तथा वृत्त र इप्रकाका डिएसपीहरुको पनि इन्चार्ज हेरफेर गर्ने समय भएको छ। इन्सपेक्टरको नियमित सरुवा पनि रोकिएको छ।
इन्सपेक्टर सरुवा मात्र होइन बढुवा पनि रोकिएको छ। डिएसपी दुई दर्जन पद रिक्त रहेपनि बढुवा प्रक्रिया अघि बढेको छैन। प्रहरी महानिरीक्षक पर्ख र हेरको अवस्थामा छन्।
हाल एसएसपीका पनि दुई पद रिक्त छन्।