काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।
यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो।
निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक सवारीसाधनको अत्यधिक चाप हुने भएकाले यात्रुको आवागमन सहज र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको हो।
तर, खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने निर्वाध सञ्चालन गर्न पाउनेछन्।
यसअघि बैठकले दसैं, तिहार तथा छठलाई लक्षित गर्दै २३ असोजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयसमेत गरिसकेको छ।