दाङ । घोराही चाडपर्वलाई लक्षित गर्दै घोराही उपमहानगरपालिकाको नेतृत्वमा बुधबार घोराही बजार क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको छ।
चाडपर्वका समयमा खाद्यान्न तथा उपभोग्य वस्तुको खपत बढ्ने र म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री बिक्री हुने जोखिमलाई मध्यनजर गर्दै उपभोक्तालाई गुणस्तरीय र म्यादभित्रका सामान उपलब्ध गराउने उद्देश्यले अनुगमन गरिएको हो।
घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय दाङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुर, वडा प्रहरी कार्यालय घोराही, नेपाल पत्रकार महासंघ दाङ, घोराही उपमहानगरपालिकाका नगर प्रहरीलगायत सरोकारवाला निकायको सहभागितामा अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा घोराही बजार क्षेत्रका चारवटा होटल, तीनवटा मार्ट तथा छवटा किराना र खाद्यान्न पसल गरी १३ वटा व्यवसायको निरीक्षण गरिएको थियो।
अनुगमनका क्रममा घोराही उपमहानगरपालिका–१५ पाठक चोकस्थित सुभाष ट्रेडर्समा १ हजार ५३५ रुपैयाँ, सोही चोकनजिक रहेको अमित एन्ड अजित किराना तथा तरकारी पसलमा ४ हजार ७९५ रुपैयाँ र घोराही–१५ निमाहल रोडस्थित मामाभान्जा किराना पसलमा १७० रुपैयाँ बराबरका म्याद गुज्रिएका किरानाजन्य खाद्य सामग्री फेला परेका थिए।
ती तीनवटा पसलबाट बरामद गरिएका म्याद गुज्रिएका खाद्य सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको छ। तीनवटा पसलबाट गरी कुल ६ हजार ५०० रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्य सामग्री नष्ट गरिएको हो।
अनुगमनका क्रममा अन्य होटल, मार्ट, किराना तथा खाद्यान्न पसलमा देखिएका कमीकमजोरी तत्काल सुधार गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ।
चाडपर्वका समयमा उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै बजारमा गुणस्तरीय सामग्रीको बिक्री वितरण सुनिश्चित गर्न अनुगमन गरिएको हो। बजारमा म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री बिक्री हुन नदिन र उपभोक्तालाई ठगीबाट जोगाउन यस्ता अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ।
उपभोक्ताले पनि सामान खरिद गर्दा उत्पादन तथा उपभोग्य मिति, मूल्य, गुणस्तर र प्याकेटको अवस्था जाँच गर्न आवश्यक छ।