काठमाडौं ।* प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ले अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा आयोजित एक दिवसीय कार्यशाला गोष्ठीको समुद्घाटन गर्नुभएको छ।
“आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान: वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान” भन्ने नाराका साथ आयोजित उक्त कार्यशालाको मुख्य विषयवस्तु “वित्तीय अपराध अनुसन्धान: प्रमाण सङ्कलनदेखि फैसलासम्म” रहेको छ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था एवं दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूलगायत विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सोही अवसरमा प्रहरी महानिरीक्षकले “नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह – भाग ३” पुस्तकसमेत लोकार्पण गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक के.सी.ले अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै वित्तीय अपराधको बदलिँदो स्वरूप, अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोग तथा यसबाट सिर्जित चुनौतीहरूलाई सम्बोधन गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको अवलम्बन अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
कार्यशालाबाट वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीहरूको वस्तुनिष्ठ विश्लेषण हुनुका साथै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन तथा न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपायहरू पहिचान हुने विश्वास व्यक्त गर्नुभयो।
साथै, वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई परिणाममुखी बनाउन सम्बन्धित सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीचको समन्वय, सहकार्य र सूचनाको प्रभावकारी आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।