काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.को प्रमुख आतिथ्यमा “आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क” को समुद्घाटन सम्पन्न भएको छ।
उद्घाटनका अवसरमा प्रहरी महानिरीक्षकज्यूले नेपाल प्रहरीको CUG सेवामा आबद्ध कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका *५४ हजार १ सय २२ जना* प्रहरी कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि Google Form Link पठाउनुभएको थियो।
साथै, एक जना प्रहरी कर्मचारीसँग टेलिफोनमार्फत प्रत्यक्ष संवाद गरी उहाँको गुनासो सुन्नुभई डेस्कको औपचारिक शुभारम्भ गर्नुभएको थियो।
प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी स्थापना गरिएको यस डेस्कको प्रमुख उद्देश्य आधारभूत तहका प्रहरी कर्मचारीको पेसागत तथा सेवागत जीवनलाई थप सुरक्षित, सम्मानित, मर्यादित र न्यायोचित बनाउनु रहेको छ।
सम्बोधनका क्रममा प्रहरी महानिरीक्षकज्यूले आधारभूत तहका प्रहरी कर्मचारीले भोग्नुपरेका समस्या, कठिनाइ, असमान व्यवहार, विभेद तथा विविध गुनासाहरूको निष्पक्ष सुनुवाइ गरी समयमै उचित सम्बोधन गर्ने प्रभावकारी संयन्त्रका रूपमा कार्य गर्न डेस्कमा खटिएका प्रहरी अधिकारीहरूलाई निर्देशन दिनुभएको थियो ।