२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

नयाँ पैसा सिमित मात्रामा वितरण गर्ने तयारी

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

ABC Sanchar
काठमाडौँ कोराना सङ्क्रमणको बढ्दो जोखिमका कारण यसपालिको दशैँमा अनलाइनबाट टीका लाउने र दक्षिणा दिने अवस्था आउलाजस्तो छ । अघिल्लो वर्षको दशैँका लागि तँछाडमछाड गर्दै लाममा बसेर नयाँ नोट साटेका हात्तीवनका प्रतीक खनालले भन्नुभयो, “यसपालि नयाँ नोटको कुरा छाडौँ, सकुशल बस्न पाए हुन्थ्यो । ”
मुलुकमा कोरोना कहर सुरु भएयता नेपाल राष्ट्र बैङ्कले ‘सकेसम्म डिजिटल कारोबार गर्नू’ भनी दिएको बारम्बारको निर्देशन दशैँमा पनि लागू गर्नुपर्ने अवस्था अहिले देखिएको छ ।
कोरोना सन्त्रासका कारण सर्वसाधारणको मात्रै होइन विगतमा व्यवस्थित तरिकाले विभिन्न ठाउँमा ठूलै भीडभाडका साथ नयाँ नोट बाँड्ने गरेको नेपाल राष्ट्र बैङ्कले पनि यसपालि नयाँ नोट वितरणलाई साँघुरो बनाउने भएको छ ।
नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले विषम परिस्थितिमा विगतमा जस्तो तामझामसाथ नयाँ नोट वितरण गर्ने अवस्था नरहेको भन्दै यस विषयमा असोजभरमा आवश्यक निर्णय लिइने बताउनुभयो ।
यसपालि दशैँ आउन अझै समय रहेको हुँदा अहिले नै केही निर्णय लिने अवस्था नभएको भन्दै उहाँले कोरोनाको विषम परिस्थितिले के कस्तो अवस्था ल्याउँछ अझै हेर्न बाँकी रहेको जनाउनुभयो । त्यसकै आधारमा नयाँ नोट वितरण गरिने उहाँले बताउनुभयो । ‘फाट्टफुट्ट त बाँड्नैपर्ने हुन्छ तर पोहोर सालजस्तो हुँदैन । सकेसम्म सीमित गर्नुपर्ने हुन्छ’ उहाँको विचार छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार एक सय, पचास, पाँच सय र एक हजार रुपियाँका नयाँ नोट आइसकेका छन् । आगामी असोज १५ सम्म पाँच, दस र बीसका नोट आउने प्रक्रियामा रहेको जनाइएको छ तर कार्ककारी निर्देशक नेपालले भन्नुभयो, “ल्याउने हो अहिले सबै बन्द छ । निर्धारित समयभन्दा केही पछाडि जाला । ” दशैँसम्म एक हजार रुपियाँको समेत गरी ५० अर्ब रुपियाँ बराबरका नयाँ नोट आइसक्ने जानकारी उहाँले दिनुभयो ।
नोटको सुरक्षा गर्न आग्रह
पूजाआजा गर्दा तथा हरेक दिन मन्दिरमा गरिने पूजामा कागजी नोटको प्रयोग नगर्ने, नोटमा रातोलगायत विभिन्न रङको प्रयोग नगर्ने, फोहोर तथा चिसो हातले नोट नछुने, नोटलाई कच्याककुचुक गरेर नराख्ने, पर्समा राख्दा पनि पट्याएर सीधा बनाएर राख्न राष्ट्र बैङ्कले जोड दिँदै आएको छ ।
नेपाल राष्ट्र बैङ्कको सफा नोट नीतिमा उल्लेख भएअनुसार झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, कीराले खाएको, भिजेको, छपाइ बिग्रेको, नोटको अङ्क, अक्षर, चित्र तथा सुरक्षण व्यवस्था बिग्रिएको वा नबुझिने गरेको नोट चलनचल्तीमा ल्याउन पाइँदैन । त्यस्तै रङ लागेको, लेखिएको, कोरिएको, मेटिएको, च्यातिएको र पूर्वराजाको तस्बिर भएको नोट पनि चलनचल्तीमा ल्याउन नपाइने गत जेठमा संशोधित नीतिमा जनाइएको छ ।
बैङ्क तथा वित्तीय संस्थाले नोट सटही तथा भुक्तानी गर्नुपर्दा निश्चित प्रक्रिया अपनाई डिस्इन्फेक्ट अर्थात् जीवाणुरहित बनाउनुपर्ने पनि व्यवस्था छ । गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]