२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

हिन्दूराष्ट्र घोषणा र राजसंस्था पुनः स्थापनाको माग गर्दै र्याली

Logo
प्रकाशित शनिबार, मंसिर १३, २०७७

(महेन्द्र सिंह) बाँके। शनिबार राजावादीहरुले नेपालगन्जमा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेका छन् । हिन्दू राष्ट्रवादी समूहको आयोजनामा मोटरसाइकल र्यालीसहितको प्रदर्शनमा राजावादी मात्र होइन, सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस समर्थकको पनि सहभागी भएको आयोजकले जनाएको छ ।
प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य डा.धवलशम्सेर राणाले वीर गोर्खाली र राष्ट्रवादीहरुको अभियानले राजसंस्थाको पुनःवहाली निश्चित भएको दावी गरे । उनले देश र श्रीपेचको रक्षाकोे लागि राजसंस्था र हिन्दू राष्ट्र स्थापना अपरिहार्य रहेको बताए । डा.राणाले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना भइछाड्ने दावी गरे ।
वर्तमान सरकार र प्रतिपक्षका कारण राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने बताए । डा.राणाले भने, ‘नागरिकहरुको साथ र समर्थन बढेको छ । नेपालमा राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना भएरै छाड्छ ।’ गणतन्त्र स्थापनापछि नेपालगन्जमा हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा भएको यो प्रदर्शन अहिलेसम्मकै ठूलो भएको नेपालगन्जबासीहरु बताउँछन् ।
केन्द्रीय कार्य सम्पादन समितिका सदस्य डा.राणाले नेपाललाई हिन्दू राष्ट्र कायम भएरै छाड्ने दावी गर्दै त्यसको नेतृत्व राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । ‘नेपाललाई जसरी पनि हिन्दु धर्मसहितको राष्ट्र बनाउने पक्षमा म दृढ छु, यो मेरो संकल्प हो, सिंगो नेपाललाई हिन्दू राष्ट्रका पक्षमा जगाउने गरी राप्रपाले परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्छ,’ समापन कार्यक्रमलाई सम्बोधन गर्दै राणाले भने ।
प्रदर्शनपछिको समापन कार्यक्रमकमा बोल्दै शिव सेनाको किशोर लामाले संवैधानिक राजतन्त्र र हिन्दु राज्य हुँदामात्रै मुलुकको विकास हुने बताए । उनले गणतन्त्रको नाममा नेताहरुले जनतालाई आश्वासनमात्रै दिएको आरोप लगाए । गणतन्त्रपछिका सरकारले भ्रष्टाचार र बेथिति बढाएको, संघीयता नेपालको लागि सुहाउँदो नभएकोे उनको भनाइ थियो । उनले मुलुकमा हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापना गराएरै छाड्ने उद्घोष गरे ।
राप्रपाको संयोजन तथा विश्व हिन्दू महासंघ, शिव सेना लगायतको व्यवस्थापनमा भएको प्रदर्शनमा हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै नारा लगाइएको थियो । आयोजकले १० हजार नागरिकलाई प्रदर्शनमा उत्रार्ने दावी गरे पनि २५ हजार बढीको सहभागीता रहेको दावी गरेको छ । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना स्थापनाका लागि देशव्यापी अभियानको तयारीस्वरुप आजको प्रदर्शन भएको जनाइएको छ ।
‘सोचेभन्दा बढीको सहभागिता रह्यो, हामीले आह्वान मात्र गरेका हौँ, जनता स्वतस्फुर्त रूपमा सडकमा आए । अरू पार्टीका कार्यकर्ता पनि सहभागी भए,’ प्रदर्शनको संयोजना गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले भने । यो सहभागिताले अहिलेको व्यवस्था फेल भएको पुष्टि गरेको उनको भनाइ छ । उनका अनुसार सरकार र राजनीतिक दलका गतिविधिप्रतिको वितृष्णाका कारण पनि जनसहभागिता सोचेभन्दा बढी देखिन्थ्यो ।
‘गणतान्त्रिक व्यवस्था फेल भएको र जनतामा व्यवस्थाप्रति नै वितृष्णा बढेको पुष्टि र्यालीले गरेको छ,’ केन्द्रीय सदस्य देवकोटाले भने, ‘प्रदर्शनमा स्वतन्त्र नागरिक र अन्य पार्टीका साथीहरु पनि सहभागी हुनुभयो । भव्य र सभ्य तरिकाले कार्यक्रम सफल भयो । यसको आयोजक राष्ट्रवादी नागरिकहरु नै थिए । विश्व हिन्दू महासंघ र शिवसेना नेपालसहित राजतन्त्र र हिन्दू राज्य चाहने सबैको सद्भाव थियो । त्यसैले पनि प्रदर्शन भव्य र सभ्य भयो ।’
राजा, राजसंस्था र हिन्दू राज्य चाहने राष्ट्रवादी जनताको समर्थन र सदभावको रूपमा हिन्दू राष्ट्र र राजसंस्थाप्रति आस्था राख्ने र अपरिहार्यता महसुस गर्ने सबै नागरिकहरुको सहभागीता रहेकाले हिन्दू राष्ट्र र राजसंस्था अबको आवश्यकता हो भन्ने सन्देश गएको देवकोटाले बताए । उनले प्रदर्शनमा सहभागी भई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेको भन्दै राष्ट्रवादी नागरिक, अन्य दलका नेता कार्यकर्ता, स्वतन्त्र नागरिक सबैलाई धन्यवादसमेत दिए ।
कार्यक्रममा हिन्दू राष्ट्र र राजसंस्थाप्रति आस्थावान्, हिन्दूवादी संघसंगठन, शुभेच्छुक र विभिन्न अन्य राजनीतिक दलमा आवद्ध नागरिकहरुको प्रदर्शनसहितको र्याली बागेश्वरी मन्दिर पार्कबाट सुरु भई सुतेविक चोक, पुष्पलाल चोक, विरेन्द्र चोक, विपी चोक, गणेशमान चोक, चारबाहिनी, भेरी अस्पताल चोक, त्रिभूवन चोक, त्रिवेणी मोड,   बागेश्वरी  टोल घरबारीी टोल हुँदै विरेन्द्र चोकमा पुगेर समापन भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]