२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

यौन हिंसा प्रकरण प्रहरीको घेरामा राउटे बस्तीमा जान बन्द

Logo
प्रकाशित शनिबार, जेठ २९, २०७८

(ABC-Sanchar)
सुर्खेत । राउटे युवतीमाथि सामूहिक यौन हिंसाको घटना सार्वजनिक भएपछि सुर्खेतको गुर्भाकोट नगरपालिका–९ दमारस्थित राउटे बस्तीमा सुरक्षा सतर्कता बढाइएको छ । घटनालगत्तै बस्ती सिल गरिएको प्रशासनले अन्य मानिसको जथाभावी प्रवेश रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरेको हो । राउटे बस्तीमा हाल नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक तथा सशस्त्र प्रहरीले हवल्दारको कमाण्डमा सुरक्षा निगरानी बढाएको छ ।

यही जेठ २१ गते राति १९ र २३ वर्षीया राउटे युवतीमाथि स्थानीय तीन युवाले बोटेचौर बजारको एक होटलमा यौन हिंसाजन्य क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा भाइरल उक्त भिडियोका आधारमा प्रहरीले आइतबार बिहान गुर्भाकोट–९ बोटेचौरका ३५ वर्षीय चौमन घर्ती, २४ वर्षीय भूपेन्द्र बुढामगर र होटल सञ्चालक मिलन भनिने मनबहादुर पुनलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयले राउटे युवतीमाथि भएको सामूहिक यौन हिंसाको घटनामा जबर्जस्ती करणी र साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले अनुसन्धान अधिकारीले घटनासँग सम्बन्धित प्रमाण सङ्कलनका साथै पीडित, पीडक पक्षको बयान लिने काम भइरहेको बताउनुभयो ।

घटनाको आठ दिनपछि राउटे युवतीको शुक्रबार प्रदेश अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडित युवतीलाई थाहै नदिएर उनीहरुको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ । पीडित युवतीको सुरक्षाका कारण उक्त समुदायका अगुवालाई घटनाबारे गोप्य राखिएको छ । बयान र स्वास्थ्य परीक्षणपश्चात ती युवतीलाई बस्तीमै फर्काइएको छ । घटनाका आरोपीलाई आवश्यक अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालतले १० दिनको म्याद थप गरेको छ । यसअघि अदालतले दिएको पाँच दिनको म्याद शुक्रबार सकिएको थियो ।

प्रहरी नायब उपरीक्षक घर्तीले राउटे बस्तीको निगरानीका लागि अझै केही समय प्रहरी त्यहाँ बस्ने बताउनुभयो । “यस्ता घटनामा विशेषगरी युट्युबरले सन्सनी मच्चाइरहेको पाइन्छ, यस घटनामा पनि शुरु–शुरुमा युट्युबजस्ता सामाजिक सञ्जालमा पीडितलाई उल्टै पीडा दिने खालका विषयवस्तु सार्वजनिक भएको पाइयो”, उहाँले भन्नुभयो, “बस्तीमा त्रास फैलाउने, पीडितलाई थप पीडा दिने, अनुसन्धानलाई प्रभावित पार्न सक्ने भएकाले प्रहरीको निगरानी बढाएका हौँ ।”

व्यापक प्रहरी परिचालन भए पनि राउटे समुदायले भने अहिलेसम्म घटनाबारे थाहा पाएका छैनन् । प्रहरी प्रशासनले समुदायबाट पीडित युवतीमाथि थप हिंसा हुनसक्ने आकलन गर्दै बस्तीमा अन्य मानिसको प्रवेश रोक्नाका साथै उक्त घटनालाई गोप्य राख्ने रणनीति अपनाएको हो ।

फिरन्ते राउटे समुदाय लेकबेँसी नगरपालिकाको कल्याणबाट केही दिनअघि गुर्भाकोटको आपँसोती हुँदै दमार भन्ने ठाउँमा पुगेका हुन् । लोपोन्मुख सो समुदाय हाल १४३ को सङ्ख्यामा छ । सरकारले लोपोन्मुख जातिको सामाजिक सुरक्षाका लागि प्रतिव्यक्ति मासिक रु तीन हजार भत्ता प्रदान गर्दै आएको छ ।

यसैबीच जिल्ला अदालतले शुक्रबार राउटे युवतीमाथि भएको यौन हिंसाका भिडियो युट्युबबाट हटाउन आदेश दिएको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले युट्युबबाट भिडियो नहटाइए साइट बन्द गर्नसमेत आदेश दिएको हो । करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।

“युट्युबलगायतका सामाजिक सञ्जालमा राखिएका सामग्री हटाउन नेपाल सरकारमार्फत विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था देखिएको छ, गृह मन्त्रालयमार्फत सूचना जारी गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रस्तुत आदेशको प्रतिलिपिसहित कारवाहीका लागि लेखी पठाउनू”, आदेशमा भनिएको छ ।

सामग्री बनाएर अपलोड गर्नेलाई कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमार्फत प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्न आदेश गरिएको छ । त्यस्तै अदालतले संवेदनशील विषयमा जथाभावी सामग्री प्रसारण गर्नेविरुद्ध कारवाही गर्न तथा त्यस्ता साइट आवश्यकतानुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई समेत अनुरोध गर्न आदेश दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]