(ABC-Sanchar)
तुल्सीपुर । दाङका सुरक्षा प्रमुखहरुले जिल्लावासीहरुलाई धन्यबाद ज्ञापन गरेका छन । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरुको एकै साथ सरुवा भएपछि उनीहरुले आफुहरुको कार्यकाल सफल बनाउन विभिन्न माध्यमबाट सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका हुन् ।
बिहिबार तुलसीपुर उद्योग बाणिज्य सघंले आयोजना गरेको फेरि भेटौला कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले कोभिड महामारी नियन्त्रणमा निजिक्षेत्रले ठुलो योगदान गरेको भन्दै खुलेर प्रशसा गरेका छन् । उनले भने– ‘तुलसीपुरले व्यवसायिक एकता देखाएको छ । समाजमा आईपर्ने हरेक समस्याहरुलाई समाधान गर्न सहयोगी संस्थाको रुपमा स्थानीय प्रशासनले लिएको छ ।’
विभिन्न समयमा आईरहने महामारीको समयमा राहत र उद्दारमा अग्रणी भुमिका खेल्ने यस क्षेत्रका सबै व्यवसायीहरुलाई धन्यबाद दिन चाहान्छु प्रजिअ पौडेलले भने ।
तुलसीपुर उद्योग बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख गणेश चन्दले आफु करिब १५ महिना दाङमा सुरक्षाको जिम्मेवारी पुरा गर्दा सबै क्षेत्रबाट महत्वपुर्ण सहयोग प्राप्त गरेको बताए । उनले भएरहित समाज निर्माण गर्नका लागि बिना बर्दिका प्रहरीहरुको भुमिका अझै महत्वपुर्ण रहने पनि बताए । सिमित श्रोत साधनका बिच दाङ प्रहरीले गरेका सुधारका प्रयासहरुमा निजि क्षेत्रको उल्लेखनीय भुमिका रहेको बताए ।
सो अबसरमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले आफुले तुलसीपुरमा सुरु गरेका अभियानहरु सबै सफल भएको भन्दै यस क्षेत्रका नागरिकहरुको चाहना, सुझाब, सहयोगबाटै आफु सफल भएको बताए । गुण्डागर्दी, लागु औषध नियन्त्रण र सभ्य समाज निर्माणका लागि आवश्यक पर्ने सुरक्षा कवजलाई आफुले अवलम्बन गरेर कार्य सम्पादन गरेको उनको भनाइ थियो । टोलटोलमा सुरक्षा समिति, स्कुल स्कुलमा नो ड्रग्स कार्यक्रम र ट्राफिक सचेतनाको अभियानलाई जोडतोडका साथ उठान गरेका डिएसपि सिंहले कार्यालय परिसरमा समेत उलेख्य सुधार गरेका छन् ।
सो अबसरमा निबर्तमान अध्यक्ष बिरबहादुर रावत, निर्वतमान अध्यक्ष बिमल रिजाल, प्रेस सल्लाहकार शरद रेग्मी लगायतकाले बोलेका थिए । कार्यक्रमको सहजिकरण महासचिव बिनिल केसीले गरेका थिए ।