ABC (क्राईमबिट)
दाङ । पछिल्लो समय टिप्परहरुको जिल्लाले परिचित हुँदै गएको छ । पहाडी क्षेत्रबाट सिमेन्ट उद्योगका लागि चुनढुंगा ढुवानीका लागि प्रयोग गरिने हजारौँ टिप्पर जिल्लामा संचालनमा आएसँगै सार्वजनिक सवारीभन्दा टिप्परको बिगबिगी छ ।
नियम विपरित भारवहनको दोब्बर बढी चुनढुंगा बोक्ने, तीव्रगतिमा सवारी कुदाउने, ट्राफिक नियम पालना नगर्ने जस्ता समस्या बारम्बार देखिने गरेको छ । साँघुरा तथा पुराना सडकमा टिप्परको एकछत्र राज भएसँगै जिल्लाका अधिंकाश सडक क्षतविक्षत भई दुर्घटनाको जोखिम बढेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न स्थानबाट नियम विपरित चुनढुंगा बोकेका तथा नदीजन्य बस्तु उत्खननमा प्रयोग गरिएका ट्रयाक्टर र जेसीबीसहित ६ दर्जन बढी सवारी एकै पटक नियन्त्रणमा लिएर कारवाही गरेको छ ।
दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठूलो मात्रामा खानी तथा नदीजन्य पदार्थ उत्खननमा प्रयोग गरिएका जेसीबी, ट्रयाक्टर, टिप्पर गरी ७६ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालका अनुसार घोराही क्षेत्रबाट १८ वटा टिप्पर, ५ वटा ट्रयाक्टर र १ वटा जेसीबी नियन्त्रणमा लिईएको छ । यस्तै, तुलसीपुर क्षेत्रबाट २६ वटा टिप्पर, इलाका प्रहरी कार्यालय कमिरेचौरबाट १३ वटा टिप्पर र वडा प्रहरी कार्यालय लमहीबाट पनि १३ वटा टिप्पर नियन्त्रणमा लिईएको छ । जिल्लामा यसरी नदीजन्य तथा खानीजन्य बस्तु ढुवानी गर्ने र उत्खननमा प्रयोग गरिएका सवारी साधन नियन्त्रणमा लिईएको सम्भवतः पहिलो पटक हो ।
केही वर्षयता यी सवारी साधनको दबदबाका कारण आम नागरिकले निकै सास्ती भोग्न बाध्य छन् । यी सवारी साधनले नियम विपरित भारवहन क्षमताभन्दा दोब्बर माल राखेर ढुवानी गरेको, ढुंगा तथा खानीजन्य बस्तु नियम विपरित उत्खनन् गरी ढुवानी गरेको तथा आवश्यक कागजात बिना मनपरी सवारी गुडाएको भन्दै नियन्त्रणमा लिईएको प्रहरी नायव उपरीक्षक रिजालले बताउनुभयो ।
दाङ प्रहरीले असार २८ गते सोमबारबाट हालको अवस्थामा प्रतिबन्ध लगाईएको नदीजन्य पदार्थ ढुवानी गरिरहेका र त्यहाँ प्रयोग गरिएको सवारी साधन नियन्त्रणमा लिएको छ भने जिल्ला अनुगमन समितिले गरेको निर्णय विपरित ढुवानी गरेको भन्दै नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएका सबै सवारी साधन नदीजन्य बस्तु र खानीजन्य बस्तुसहित प्रहरी कार्यालयमा राखिएको छ ।
प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले पनि जिल्लामा हुने चोरी तस्करी नियन्त्रण अभियान प्रहरीको प्राथमिकता रहेको बताउनुभयो । कुनै पनि श्रोत साधनको दुरुपयोग हुनबाट रोक्नु, अवैध कामलाई परास्त गर्नु प्रहरीको दायित्व भएको बताउनुभयो । असार मसान्तको बेलामा कतिपयले मौका छोपेर पनि यस्ता गलत काम गरेको पाइएको उहाँ बताउनुहुन्छ ।
स्वर्गद्धारी टिप्पर व्यवसायी समिति अध्यक्ष भरतनाथ योगीले नियम विपरित चलेका सबै खालका सवारी साधनलाई कारवाही गर्नुपर्ने बताउनुहुन्छ । आफुले जिल्ला समन्वय समितिको बैठकमा नियम अनुसार टिप्पर संचालन गर्ने भनी प्रतिबद्धता जनाएको प्रष्ट पार्दै नियन्त्रणमा लिईएका सवारी साधन कारवाहीको भागीदार हुनुपर्ने बताउनुभयो ।
आफुले इन्धनको मुल्य बढ्दै गएको हुँदा ढुवानी भाडा बढाउन प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण गराएको स्मरण गराउँदै कोही कसैले नियमभन्दा बाहिर गएर काम गर्नेलाई कारवाही हुनु पर्नेमा आफु रहेको प्रष्ट पार्नुभयो । जिल्ला बाहिरबाट आएका अधिकांश टिप्परले सिमेन्ट फ्याक्ट्रीको मिलेमतोमा नियम मिचेर ढुवानी गरिदिँदा आफुहरुलाई बदनाम गराउने काम भएको स्वर्गद्धारी टिप्पर व्यवसायी समिति अध्यक्ष योगीको तर्क छ ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भारवहन क्षमताभन्दा बढी बोकेका, गैरकानूनी रुपमा सवारी साधनको ढाला बढाएका कारण सवारी साधन नियन्त्रणमा लिनुपरेको बताउनुभयो । उहाँका अनुसार, राज्यको सम्पत्तिमाथि चरम दोहन गर्ने तर जनतालाई मारमा पारेर गैरकानूनी रुपमा काम गर्ने यस्ता सवारी साधनमाथि कारवाही अघि बढाईएको हो । नियमभन्दा बाहिर गएर काम गरिदिँदा सडकको अवस्था दयनीय बनेको जिकिर गर्नुभयो ।
नागरिकले प्रयोग गर्ने, सार्वजनिक सवारी गुड्ने सडकमा निर्माणसँग जोडिएका ठूला सवारी साधन गुडदा अहिले दाङका अधिकांश सडकको अवस्था अत्यन्तै जोखिममा परेको उहाँ बताउनुहुन्छ । यसले राज्यमाथिको दोहन मात्रै नभई नागरिकमाथि अत्याचार गरिएको धारणा छ । उहाँले यस्ता काम गर्नेलाई फट्याईको संज्ञा पनि दिनुभयो ।
विगतमा नियमकारी निकायको काम कारवाही फितलो हुँदा पनि यसको लाभ लिन मौका पाएकाहरुले अहिले पनि त्यही मौका छोपेको उहाँको तर्क छ । अब आफु मातहतका निकायकोे काम कारवाही विधि र निति सम्मत रुपमा चल्ने बताउनुभयो । अहिले पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका अधिकांश टिप्पर दाङमा आएर चुनढुंगा ढुवानी गरिरहेका छन् । दैनिक करीव १३ सय टिप्परले जिल्लामा ढुवानी गरिरहँदा यहाँका सडकको अवस्था के होला आफै अनुमान लगाउनु सकिन्छ ।
अहिले जिल्लामा नदीजन्य बस्तुको उत्खनन् र ढुवानीमा रोक लगाईएको छ । स्थानीय सरकारले आफ्नो आवश्यकताका आधारमा आफ्नै साधन प्रयोग गरी समन्वय गरेर नदीजन्य बस्तु प्रयोग गर्न सक्ने नियम बनाइएको छ । यसको अनुगमन जिल्ला अनुगमन समितिले गर्ने गरेको छ । नियमनकारीको संरक्षणमा नदीजन्य तथा खानीजन्य बस्तुको उत्खनन्मा चरम दोहन भएको नागरिकको गुनासको बीच भर्खरै जिल्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको काम कारवाही नागरिकमैत्री बनोस् भन्ने सबैले अपेक्षा गरेका छन् । टिप्पर संचालनका लागि ५ बुँदे निर्णय, व्यवसायीको प्रतिवद्धता