२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

चितवनमा मृत भेटिएको सेनाको सिपाहीले गोली हानी मारेको पुष्टि

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

ABC (क्राईमबिट)
चितवन । शारदानगरस्थित घोलमा बिहीबार बिहान मृत भेटिएका नेपाली सेनाका हुद्दा भरत गुरूङलाई सेनाकै सिपाहीले गोली हानी मारेको पुष्टि भएको छ।

काठमाडौंबाट सँगै चितवन आएका सिपाही गंगाधर ढकालले भरतको गोली हानी हत्या गरेको भेटिएको चितवन प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गरायो।

जिल्ला प्रहरीका प्रमुख एसपी ओमप्रसाद अधिकारीले चितवनमा बैना गरिएको जग्गा पासका लागि आएका भरतको उनकै विश्वासिला साथी ढकालले हत्या गरेको बताए।

एसपी अधिकारीका अनुसार भरतपुर-२१ का गंगाधरलाई गुरूङले विश्वास गरेर बैंकको चेक नै दिएका थिए।

साउन २ गते भरतको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाताबाट गंगाधर आफैंले भरतको हस्ताक्षर गरी ९ लाख रूपैयाँ निकालेका थिए।

भरतले जग्गा किन्नका लागि भनेर राखेको रकम गंगाधरले आफ्नो घरमा लगेर ६ लाख रूपैयाँ श्रीमती र २ लाख रूपैयाँ बुवालाई दिए। बाँकी एक लाख रूपैयाँ आफैंले राखे।

काठमाडौंस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको महेन्द्रदल गणमा कार्यरत भरतले साउन ५ गते चितवन आउनका लागि बिदा लिए। साथी गंगाधरलाई चितवन जानका लागि लिन आउन बोलाए। गंगाधरकै मोटरसाइकलमा आएका उनीहरू सो दिनको राति चितवनको एक होटलमा बास बसे।

६ गते भरत गुरुङ भरतपुर–१९ शारदानगरस्थित माइला बुबाको छोरा रविन गुरूङको घरमा पुगेर झोला राखे। त्यसपछि गंगाधरकै मोटरसाइकल चढेर बजारतिर निक्लिए।

सो दिन राति उनीहरूले एक होटलमा बसेर अत्यधिक मदिरा सेवन गरेको एसपी अधिकारी बताउँछन्।

‘भरत सोझो रहेछ, रक्सी पनि अत्यधिक खाने रहेछ,’ अधिकारीले भने, ‘रातभर रक्सी खाएर गंगाधरले भरतलाई मोटरसाइकलमा राखेर डुलाउँदा बिहानै भएछ।’

अधिकारीले दिएको जानकारीमा बिहान करिब ६ बजेतिर शारदानगरको सिमलडाँडामा पुगेपछि गंगाधरले पिसाब फेर्ने भनेर मोटरसाइकल रोकेका थिए।

‘भरत फर्किएर मोटरसाइकलमा आड लगाएर बसे। गंगाधरले झोलामा रहेको हतियार ‘एसएमजी’ झिकेर भरतको टाउकोमा एक राउण्ड गोली हानेछन्,’ एसपी अधिकारीले भने, ‘त्यसपछि मृतकलाई तानेर घोलमा फालेर हिँडेछन्।’

गंगाधरले आफ्नो कपडा, जुत्ता र मोटरसाइकलमा लागेको रगत केही पर गई कुलोको पानीमा पखालेका थिए।

उनी भरतपुर–८ स्थित गरुवा कामक्ष मन्दिर क्षेत्रमा पुगेर सडकको किनारामा रहेको झाडीमा हतियार फालेर पूर्वी चितवनको सौराहचोकस्थित फुपूको घरमा पुगेका थिए। फुपूको घरमा कपडा पुनः पखालेपछि उनी दिउँसो भरतपुर–१० मा रहेको हुण्डाई कारको शोरूममा कार्यरत काकाका छोरासँग मोटरसाइकल साटेर निस्किएका थिए।

गंगाधरलाई प्रहरीले बिहीबार अपरान्ह भरतपुर–२० चनौलीबाट पक्राउ गरेको थियो।

एसपी अधिकारीले प्रहरीको ज्ञान, सीप, प्रविधिको पूर्ण प्रयोग गरी घटना भएको केही घण्टामै आरोपितलाई पक्राउ गर्न सफल भएको बताए।

प्रहरीले गंगाधरलाई पक्राउ गर्नुका साथै एक थान गोलीको खोका, एसएमजी हतियार एक थान, नगद ८ लाख रूपैयाँ, मोटरसाइकल लगायत घटनामा प्रयोग भएका सामग्री बरामद गरेको जनाएको छ।

भरतका आफन्तहरूले हत्यामा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न प्रहरीसमक्ष माग गरेका छन्।

धादिङको निलकण्ठ नगरपालिका–१३ का ३६ वर्षीय भरत गत पुसमा मात्रै शान्ति सेनाको मिसनमा लेवनान पुगेर फर्किएका थिए। सेतोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् । जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् […]