२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

किसानलाई दशै मनाउने भन्दा धान कात्ने चटारो

Logo
प्रकाशित मंगलबार, आश्विन १८, २०७९


(राजन थारू)
धनगढी । कैलालीका किसानलाई दसैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन् ।

पाकेर काट्ने अवस्थामा पुगेको धान भारी वर्षा भएमा नोक्सान हुन सक्ने पीरले सताएको जानकी गाउँपालिकाका किसान रामसुन्दर चौधरीले बताए । “गत वर्ष चार बिघा खेतमा रहेको धान बाढीमा मिसियो, यस वर्ष पनि धान पाकेको छ । १० कट्ठा जमिनमा रहेको धान काटिसकेका छौँ, बाँकी काट्न बाँकी छ”, रामसुन्दरले भने, “वर्षभरिको मेहनत बारीमा छ, कसरी दशैँ मनाउनु रु अब वर्षा भएमा पाकेको धान नोक्सान हुनेछ ।”

मङ्गलबारदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार १८ गतेदेखि दशैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

प्रशासनको सूचनापछि धान काट्न शुरू गरेका जानकीकै किसान रमेश चौधरीले धान काट्न रोकेका छन् । “धान काट्न त रोकियो, तर खल्ला खेत हो । वर्षा भएमा जलमग्न हुन्छ”, उनले भने, “पाकेको धान खेतमै सड्ला कि भन्ने चिन्ता बढेको छ । पानी परेपछि एक सातासम्म खेत सुक्न समय लाग्छ । धान पाकेर झर्लाजस्तो भइसकेको छ ।
टीकापुर–५ का किसान कृष्णा रावतले पनि मौसमकै सूचनाअनुसार धान काटेका छैनन् । कृष्णाको गत वर्ष कात्तिक २ गते आएको बाढीले दुई बिघा धान बगाएको थियो । “गत वर्ष धान देख्न पाइएन, यस वर्ष पाकेर पहेँलै भएको छ तर काटौँ भने मौसम यस्तो छ । नकाटौँ पानीले नोक्सान गर्ने डर छ”, उनले भनिन्, “किसानले केही गरे सुख नपाउने भए । मेहनत गरेर लगाएको बाली स्याहार्न पनि मौसमले नदिने भयो ।”

यतिखेर खेतीपाती गर्ने किसान दसैँ मनाउनेभन्दा पनि खेतीपातीमा ध्यान गएको बताउँछन् । जोशीपुरका शिव चौधरीको घरमा यस वर्ष दशैँमा बङ्गुर काटेर रमाइलो गर्ने योजना थियो । घरमै पालेको बङ्गुर काट्ने, रमाइलो गर्ने योजना बनाएको चौधरीको परिवार यतिखेर वर्षा हुने भनेपछि धान काट्न थालेको छ ।

“धान काटेर खेतमै दाउन थालेका छौँ”, उनले भने, “पाकेको धान नोक्सान भए वर्षभरि के खाउँला ?, दशैँ त अर्को वर्ष मनाए पनि हुन्छ भनेर खेतमा पसेका छौँ ।” वर्षाका कारण भूक्षयलगायतका विपद्बाट मानवीय तथा आर्थिक क्षति हुनसक्ने पूर्वानुमान रहेकाले समयमै प्रतिकार्यका लागि पूर्वतयारी गरी खोज, उद्धार तथा राहतका लागि सचेत र तयारी अवस्थामा रहन भनी गृहमन्त्रालय विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाबाट पत्राचार भएको हुँदा सतर्क रहन भन्दै जिल्ला प्रशासन कैलालीले सूचना जारी गरेको छ ।

गत वर्ष समयमै सूचना नपाएर नोक्सानी व्यहोरेका किसान यस वर्ष भने सूचना बस्तीस्तरसम्म पुगाउन थालेका छन् । कैलालीमा सूचना संयन्त्र निर्माण गरिएको छ । यसका साथै स्थानीय तहमा सञ्चालनमा रहेका स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रले किसानका मोबाइलमा म्यासेज, सामाजिक सञ्जालमा सूचना, बडघरलाई टेलिफोन गरेर सूचना समयमै पुगाउने गरेका छन् ।

यसरी समयमै सूचना गर्दा विपद्बाट हुनसक्ने क्षति कम गर्न सहयोग पुग्ने गरेको टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बताउँछिन् । “पछिल्लो समय सूचना सुनेर, हेरेर काम गर्ने बानी विकास हुँदैछ”, उनले भनिन्, “यसले विपद्को पूर्वतयारी र हुने क्षति कम गर्न सहयोग पुग्छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!