
(सागर थापा)
काठमाडौं । नेपाल प्रहरी प्रमुख आईजीपी धिरज प्रताप सिंहले प्रहरी दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश यस्तो रहेको छ ।
६७ औं प्रहरी दिवस, २०७९ को पावन अवसरमा देशभित्र तथा विभिन्न तालिम एवम् संयुक्त राष्ट्रसंघीय मिशनहरूमा विदेशमा खटिएका नेपाल प्रहरीका सकल दर्जाका प्रहरी कर्मचारीहरू, सेवानिवृत्त प्रहरी कर्मचारीहरू र अमर प्रहरीका परिवारजनमा व्यावसायिक सफलता, व्यक्तिगत तथा पारिवारिक सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु ।
राष्ट्र र नागरिकको सुरक्षार्थ आफ्नो प्राण उत्सर्ग गर्नुहुने वीरात्माहरुलाई नेपाल प्रहरीको विधिवत् स्थापना भएको आजको दिनमा स्मरण गर्न चाहन्छु । बिभिन्न जोखिमका बीच विषम् एवं चुनौतीपूर्ण घडीमा आफ्नो कर्तव्य प्रति किञ्चित विचलित नभई अमर सपूतहरूले विभिन्न कालखण्डमा गर्नुभएको वलिदानीबाट नै नेपाल प्रहरीले आजको स्वरुप र आकार ग्रहण गर्न सकेको हो, हामीले नेपाल प्रहरीको सदस्य भएकोमा गौरव गर्न सकेका हौं प्रहरी दिवसको दिन प्रातः स्मरणीय वीर अमर प्रहरी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आफ्ना प्रियजनलाई गुमाएर अपूरणीय क्षति व्यहोर्नु भएका अमर परिवारका समादरणीय परिवारजनमा संगठनको तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु । कर्तव्य पालनाका क्रममा अस्वस्थ हुनुभएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
दीर्घसेवा मार्फत संगठनको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुयाउनु भएका सेवानिवृत्त अग्रजहरु प्रति यसै अवसरमा कृतज्ञता व्यक्त गर्दछु । प्रहरी संगठनको गति र उन्नतिमा अग्रजहरुबाट सदा झै अमूल्य सल्लाह, सुझाव प्राप्त भइरहने अपेक्षा गर्दछु ।
प्रहरी प्रति जनताको अपेक्षाको बढोत्तरीसँगै हर चुनौतीलाई अवसरमा बदल्न सक्षम प्रहरी आजको आवश्यकता हो । यो आवश्यकताको पूर्तिको लागि परम्परागत पद्धतिलाई अक्षुण्ण राख्दै प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नु पर्दछ । विकसित घटनाक्रमसँग अद्यावधिक भई त्यसको प्रभावबाट पर्नसक्ने असरहरूको पूर्वआँकलन गरी क्षतिलाई निस्तेज तथा न्यूनीकरण गर्नसक्ने गरी स्रोत साधनबाट सुसज्जित प्रहरी र उच्चस्तरीय तालिम संगठनको प्राथमिकतामा रहेको छ।
हामीले केही वर्षदेखि योजनाबद्ध भएर लक्ष्य निर्धारण सहितको कार्यसम्पादनमा केन्द्रित हुने प्रणालीको थालनी गरेका छौं। यसले उपलब्धिमा बढोत्तरी हुनुका साथै लक्ष्य प्राप्तिमा सकारात्मक संकेत देखाइसकेको छ ।
अन्तमा, प्रहरी दिवसको यस अवसरमा आपसी भाइचारालाई अक्षुण्ण राख्दै एकवद्ध भई राष्ट्र र नागरिकको सेवा गर्ने नेपाल प्रहरीलाई सुम्पिएको गहन जिम्मेवारी अझ व्यावसायिक एवं दृढ संकल्पित भएर निर्वाह गर्ने प्रेरणा मिलोस्, यही शुभकामना व्यक्त गर्न चाहन्छु ।