कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका फरार व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन्।
प्रहरी वृत्त ठिमीले दाङ घोराही उपमहानगरपालिका-१९ बस्ने प्रेमबहादुर रानालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।
उनीमाथि सोही ठाउँका ३२ वर्षीय सूर्यबहादुर रानाको हत्या गरेको आरोप छ।
घटना २०६७ माघ २४ गते भएको थियो। उनलाई जिल्ला अदालत दाङले जन्मकैद (२० वर्ष) को सजाय सुनाएको थियो। त्यसयता फरार रहेका उनलाई शनिबार ठिमीबाट पक्राउ गरेको हो।
डिएसपी पाण्डेका अनुसार सूर्यबहादुर राना कतारमा काम गर्थे। उनी कतारमा हुँदा छिमेकी देवर नाता पर्ने प्रेमबहादुर र मृतककी श्रीमती बिन्दु रानाबीच अनैतिक सम्बन्ध थियो।
दुई वर्ष कतारमा काम गरेर उनी २०६७ माघ १९ गते घर फर्किएका थिए।
उनी आएको पाँच दिनपछि प्रेमबहादुर र बिन्दुले हत्या गरेको डिएसपी पाण्डेले बताए।
उनीहरूले सुरूमा जाँडमा धतुरो मिसाइ खुवाएर सूर्यबहादुरलाई बेहोस बनाएका थिए। त्यसपछि घाँटी थिचेर हत्या गरेका थिए। शव व्यवस्थापन गर्न डोकोमा बोकेर जंगलको भिरालो खोल्सामा लगेर फ्याँकेका थिए।
हत्या भएको भोलिपल्टै शव फेला परेको थियो।
त्यसयता फरार रहेका प्रेमबहादुरलाई पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरी कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको छ।