काठमाडौं । खोटाङ यातायात प्रालिले दिक्तेल–घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौँसम्मको बस सेवा सञ्चालन गर्ने भएपछि राहत मिल्ने अनुमान गरिएको छ ।
सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत खोटाङबाट पूर्वी तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडक भने, दसैँ, तिहार तथा छठ पर्वअघि सञ्चालन नहुने निश्चित भएको छ । यही असोज–१२ गते शनिबार दिउँसो आएको बाढीले सुनकोसीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल बगाएपछि दिक्तेल–गाईघाट सडकखण्ड भएर पूर्वी तराई जोड्ने यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको हो ।
बाढी तथा पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गतकै दिक्तेल–जयरामघाट सडकखण्डको अवरोध भने हटाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र महादेवस्थान बर्खेटारको पहिरो हटाइएपछि सोमबार साँझदेखि दिक्तेल–कटारी–बिराटनगर यातायात सञ्चालनमा आएको हो ।
पहिरो पन्छाइएसँगै दिक्तेल–घुर्मी–कटारी हुँदै विराटनगरसम्मको बस मङ्गलबारदेखि नियमित रुपमा सञ्चालन गरिएको खोटाङ यातायात प्रालिका महासचिव हिङ्माङले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्गअन्तर्गतकै दिक्तेल–चखेवाभञ्ज्याङ सडकको अवरोध हटाउनेबारे अध्ययन गर्न प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ नेतृत्वको टोली चखेवा पुगेको छ ।
बाढी तथा पहिरोले अवरुद्ध जिल्लास्थित ग्रामीण सडक पनि खुलिसकेका छैनन् । अवरुद्ध सडक दसैँ, तिहार तथा छठ पर्वअघि नै पुनः सञ्चालनमा ल्याउनेगरी सम्बन्धित स्थानीय तहले काम गरिरहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए ।