२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

सहकारी छानबिन समिति बनाउने पक्षमा रवि लामिछाने थिए केपी ओली थिएन : प्रचण्ड

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन २३, २०८१

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको बचत अपचलन, दुरूपयोग, ठगीबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा राजनीतिक चलखेल भइरहेको बताएका छन्।

उनले कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने पर्याप्त आधार नभएको बताएपछि सरकार पछि हटेको आफूले सुनेको बताए।

‘मैले सुनेको कुरा के हो भने त्यहाँ राजनीतिक चलखेल भइरहेको छ। थोरै अदालतले पनि तुरुन्तै एक्सनमा जान पर्याप्त आधार छैन भनेर कास्कीबाट भनिएको सुनेको छु। मलाई आधिकारिक हिसाबले अदालतबाट थाहा भएकोचाहिँ छैन। मलाई यो विषयचाहिँ रास्वपाकै नेताहरूले भन्नुभएको छ। नत्र अस्ति गिरफ्तार गर्ने अन्तिम तयारी भइसकेको थियो भन्ने पनि छ,’ उनले भने।

उनले यही संविधान, लोकतन्त्रअन्तर्गत जन्मिएका पार्टीहरूलाई अपमानित गर्ने, तिरस्कार गर्ने ढंगले होइन तिनीहरूलाई उचित सम्मान दिएरमात्रै लोकतन्त्रलाई सुदृढ गर्न सकिने बुझाइमा आफू रहेको पनि बताए।

‘त्यसकारण यो विषयमा मेरो बुझाइ के मात्रै हो भने यही संविधान, यही लोकतन्त्रअन्तर्गत जन्मिएका पार्टीहरूलाई अपमानित गर्ने, तिरस्कार गर्ने ढंगले होइन तिनीहरूलाई उचित सम्मान दिएरमात्रै लोकतन्त्रलाई सुदृढ गर्न सकिन्छ,’ उनले भने।

उनले आफू सरकारमा हुँदा रास्वपा लगायत नवोदित दललाई संरक्षण गरेर जानुपर्ने विषयमा तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेससँग गहिरो छलफल गर्ने गरेको बताए।

‘जसरी जनतामा प्रमुख पार्टीहरूको काम कारबाहीप्रतिको असन्तुष्टिको अभिव्यक्ति त्यहाँ भयो, त्यसलाई चाहिँ कुनै नै हिसाबले संरक्षण गर्नुपर्छ भनेर नेपाली कांग्रेस र हामी सरकारमा हुँदा त्यसबारेमा धेरै छलफल हुन्थ्यो। धेर नै छलफल गर्थ्यौं,’ उनले भने।

उनले सहकारीसँग सम्बन्धित विषय उठेपछि आफूले तत्कालीन सुरक्षा निकायका प्रमुखलाई सोधेको पनि बताए। उनीहरूले रास्वपा सभापति लामिछानेको सहकारीको बचत अपचलन, ठगीमा कुनै संलग्नता नदेखिएको बताएपछि त्यही कुरा सदनसमक्ष बोलेको पनि बताए।

‘तिनवटै सुरक्षा अंगका प्रमुख र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टिमलाई नै, अनि सम्बन्धित ठाउँका सबै प्रतिनिधिहरूलाई पनि सोधेको थिएँ। भोलि संसदमा बोल्नुछ। भोलि बोल्दा प्रतिरक्षा गरेर बोल्ने कि के गरेर बोल्न भनेर समस्या परेको छ। कमजोरी छ, तपाईंहरूले केही कैफियत देख्नुभएको छ भने भन्नुहोला, म त्यहीअनुसार बोल्छु भनेको थिएँ। उहाँहरूले अहिलेसम्म केही छैन भनेपछि मैले त्यही बोलेको हुँ। त्यो प्रतिरक्षा, बचाउ भयो कि के भयो त्यो तपाईंहरूले देखिराख्नुभएकै छ,’ उनले भने।

त्यतिबेला नेकपा (एमाले)को नेतृत्व तथा अहिलेका प्रधानमन्त्री संसदीय छानबिनको विपक्षमा रहेको बताए। बरु रवि लामिछानेले संसदीय छानबिन समिति छिटो बन्नुपर्‍यो भनेको पनि बताए।

‘संसदीय छानबिन समिति जुन बनाइयो, यो बनाएको कुरा तपाईंहरूले बुझ्नुभएकै होला, छानबिन समिति बनाउनुहुँदैन भन्ने मत थियो, खासगरी एमाले नेतृत्वको। केपीजी त यो छानबिन समिति बनाउनै हुँदैन भनेर अन्तिम समयसम्म रिजर्भ हुनुहुन्थ्यो। निर्णय हुने बेला उहाँ बैठकबाट उठेर पनि जानुभएको थियो। मेरो सहमति छैन भन्नुभएको थियो। रवि लामिछानेचाहिँ छिटो बनाउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो। मेरो बारेमा छानबिन समितिन बनोस्। छानबिन समिति बनाउनुहुन्न भन्नुको अर्थ दिनप्रतिदिन संसदमा बदनाम गर्ने पो हुन थाल्यो, त्यतिबेला,’ उनले भने।

अहिले प्रतिवेदनले लामिछानेले आफै संलग्न भएर सहकारीको बचत अपचलनको आरोप प्रमाणित गर्न नसके पनि गोर्खा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित कुरामा केही प्रश्न उठाएको बताए।

‘यो प्रतिवेदन कसरी कार्यान्वयन गर्ने भन्ने सरकारको कुरा हो, यसमा डिस्टर्ब गर्ने पक्षमा हामी छैनौं। मैले सार्वजनिक रूपमा भनेको छु’ उनले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]