काठमाडौं । व्यापारीको भेषमा विभिन्न बहाना बनाएर करोडौँ ठगी गर्ने गिरोहकि एक महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पाल्पा जिल्ला साविक चिर्तुङधारा गा.बि.स. वडा नं. ९ भई हाल कैलाली जिल्ला धनगढी उप.न.पा वडा नं. १ सेती अस्पताल नजिक बस्ने बर्ष ३९ की कल्पना गैरे रहेकी छिन् ।
उनले एक व्यक्तिलाई विभिन्न बहाना बनाएर करोडौँ रुपैयाँ ठगेको भन्ने जाहेरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बानेश्वरको गैरीगाउँबाट उनलाई पक्राउ गरेको हो ।काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्दै गणेश ढकालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कल्पना गैरेले जवरजस्ती चोरी गरी ठगी तथा अपराधिक लाभ लिएको मुद्दाको अनुसन्धानको सिलसिलामा देहायको परिचय, वतन खुलेको व्यक्तिलाई तत्कालै प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने र निजलाई पक्राउ नगरे मुद्दासँग सम्बद्ध प्रमाणहरु लोप, नाश गर्न सक्ने र निज भागी जाने सम्भावना देखिएकोले देहाए बमोजिमको परिचय खुलेका व्यक्तिलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा २ बमोजिम पक्राउ गर्ने सादर अनुरोध समेत गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काठमाडौँ माइती घरमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।