बाँके । कोहलपुर सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरस्थित नयाँ बसपार्कमा सचेतनामूलक कार्यक्रम गरेको हो ।
सो अवसरमा सवारी चालक र सह–चालकलाई वर्षायाममा हुने यान्त्रिक गड्बडी तथा मनसुनजन्य दुर्घटनाबाट जोगिने उपायका बारेमा जानकारी दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिए । उनले भने, ‘वर्षायाममा यान्त्रिक गड्बडी हुने र मनसुनका बेला खोला, नालामा आउने बाढी तथा सडकमा जमेको पानी बाटो नदेखिने र पानी परिरहेका बेला बाटो नदेखिने हुन्छ । यस्तो बेलामा सवारी साधन कसरी चलाउने र दुर्घटना हुनबाट कसरी जोगिन सकिन्छ भन्ने सचेतना दियौँ ।’ कार्यक्रममा सवारी साधनको यान्त्रिक जाँचसमेत गरिएको उनले बताए । ‘वर्षायाममा सवारी दुर्घटनाको जोखिम अति बढि हुन्छ । थोरै असावधानीले सवारी दुर्घटना भई धन र जनको क्षति हुनसक्छ,’ उनले भने ।
उनले सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको भन्दा चालक र सह–चालकको भूमिका महत्वपूर्ण हुने बताए । ‘सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको भूमिका पर्याप्त हुन सक्दैन । यसमा चालक, सहचालक, सवारी धनी, यातायात व्यवस्था कार्यालय, सडक विभागलगायत सबै सरोकारवाला निकायहरूको संयुक्त प्रयास जरुरी छ,’ उनले भने ।
कार्यक्रममा वरिष्ठ सई प्रवीण आचार्यले गाडीको नियमित मर्मत तथा चालकले अपनाउने सुरक्षा तथा सतर्कताले सवारी दुर्घटना घटाउने बताए । उनले भने, ‘गाडीको नियमित मर्मत, सम्भार, चालक अनुमतिपत्र सवारी सुरक्षाका अत्यन्त महत्वपूर्ण पक्ष मानिन्छन्,’ उनले भने ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले सडक सुरक्षामा प्रहरी र नागरिक बीचको सहकार्य अपरिहार्य रहेको बताइन् ।