सिन्धुली । जिल्लाको घ्याङलेख गाउँपालिका २ हायुटारस्थित एसबीआई बैंकको शाखा कार्यालयमा भएको लुटपाटमा बैंक रहेको घरका धनीकै संलग्नता रहेको खुलासा भएको छ। बैंक लुटपाटपछि फरार रहेका घरधनी छविलाल स्याङ्तानलाई प्रहरीले नजिकैको जंगलबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार बैंक लुटपाट प्रकरणमा संलग्न ७ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० का ४९ वर्षीय भागवत सिंह, सिन्धुली घ्याङलेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यु, भरतपुर महानगरपालिका–२ बस्ने २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, १९ वर्षीय विवेक मगर, घरधनी ४४ वर्षीय छविलाल स्याङ्तान र एक १६ वर्षीय किशोर रहेका छन्।
प्रहरीले लुटपाटबाट प्राप्त भएको २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरेको छ। साथै घटनामा प्रयोग भएका २ थान खुकुरी, नक्कली प्लास्टिकको पेस्तोल, टेप, ४ थान नकाब र एक थान पञ्जा समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा घरधनी छविलाल स्याङ्तान र चतुरमान बज्युले गएको असोज महिनादेखि नै बैंक लुटपाटको योजना बनाएको खुलेको छ। पुस २९ गते साँझ साढे ७ बजेतिर बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्की तथा कर्मचारीहरूलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी घाइते बनाएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुरबाट खटिएको टोली घटनास्थलमा पुग्दा बैंकका कर्मचारी र सुरक्षा गार्डलाई दुई वटा कोठामा हातखुट्टा बाँधिएको र मुखमा टेप टाँसिएको अवस्थामा फेला पारेको थियो। उनीहरूको तत्काल उद्धार गरी उपचारको व्यवस्था गरिएको थियो।