बाँके । जिल्ला प्रहरीकार्यालय बाँके र लागुऔषध नियन्त्र ब्यूरोले नेपालगञ्जबाट ठूलो परिमाणको खैरो हेरोइनसहित दुई कारोबारीलाई पक्राउ गरेको छ ।
खैरो हेरोइनसहित पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका –१ का ४६ वर्षीय विशाल दुलाल र नेपालगञ्ज उपमहानगरपालिका –१८ का ३७ वर्षीय युवराज रश्मी रहेको बाँके प्रहरीले जानकारी दिएको छ ।
माघ ६ गते राति नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा खैरो हेरोईन बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल!प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनीहरूलाई धम्बोझी चोक नजिकबाट २८ ग्राम १२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खानतलासी गर्दा दुलालको पाइन्टको दाहिने खल्तीभित्र लुकाइ राखिएको अवस्थामा २८ ग्राम १२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो । साथै घटनास्थलबाट डिजिटल तराजु एक थान र दुई थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएपछि उनीहरुविरुद्ध लागुऔषध मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ परेका दुईमध्ये एक जना बाँके जिल्लाकै ठूलो लागुऔषध कारोबारी (डिलर) मध्येकै एक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।