दाङ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका ३३ वर्षका रमा चौधरी रहेको दाङ प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
डिएसपी शाहका अनुसार चौधरीको आज सवा ४ बजेतिर उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो । चौधरीको टाउको, मुख, हात र खुट्टामा चोट लागेको थियो । चौधरीलाई राप्ती लाइफ केयर अस्पताल मोतिपुरमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको थियो ।
आज शुक्रबार दिउँसो करिब पौने २ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ३ प ६४३१ नम्बरको मोटरसाइकलले पैदल यात्री चौधरीलाई तुलसीपुर– ७ राजापुरमा ठक्कर दिएको हो । मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–४ बनहरीका २३ वर्षका अरुण चौधरी र पछाडि सवार तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कका २० वर्षका आभास केसी पनि घाइते भएका छन् ।
चालक चौधरीको अवस्था सामान्य रहेको छ भने पछाडि सवार केसीको दाहिने हातमा चोट लागेको छ । दुर्घटनामा संलग्न मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट पर्सेनीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।