काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पूर्वी नेपालका विभिन्न जिल्लाको भ्रमण पूरा गरी काठमाडौँ फर्किएका छन्। उनले साविकको मेची अञ्चलका तीन जिल्ला र कोशी अञ्चलका तीन जिल्लामा पार्टी गतिविधि तथा भेटघाट गरेका थिए।
बालेनले माघ ६ गते झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका थिए। त्यसको भोलिपल्ट माघ ७ गते डेरामा आएका शुभेच्छुकहरूसँग दिनभर छलफल गरेका उनी माघ ८ गते बिहान इलाम पुगेका थिए।
इलाममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा स्थानीय नागरिकसँग छलफल गरेपछि उनले सोही दिन पाँचथर र ताप्लेजुङका समर्थक तथा शुभचिन्तकसँग भेटघाट गरेका थिए।
शुक्रबार बिहान पाथिभराको दर्शनपछि बालेन तेह्रथुम हुँदै म्याग्लुङ बजार पुगेका थिए। मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने विभिन्न बजारहरूमा स्थानीयहरूसँग भेटघाट गरेको बालेनको सचिवालयले जनाएको छ। शनिबार बिहान म्याग्लुङमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा शुभचिन्तकसँग सामान्य भेटघाटपछि उनी संखुवासभाको चैनपुर पुगेका थिए।