काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले हरिबोल गजुरेल र महेश्वर दाहालसहित सात जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। आगामी फागुन २१ गते हुन गइरहेको आमनिर्वाचनमा पार्टीको निर्णयविपरीत बागी उम्मेदवारी दिएको आरोपमा उनीहरूमाथि कारबाही गरिएको हो।
शनिबार जारी गरिएको विज्ञप्तिमा नेकपाले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका व्यक्तिहरूलाई पार्टी विधानको दफा १०६ बमोजिम निष्कासन गरिएको उल्लेख गरेको छ।
पार्टीबाट निष्कासित हुनेहरूमा हरिबोल गजुरेल, महेश्वर दाहाल, कुलप्रसाद केसी, मेजर राई, धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्।
महेश्वर दाहालले सिन्धुली–२ निर्वाचन क्षेत्रमा नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध बागी उम्मेदवारी दर्ता गरेका थिए भने हरिबोल गजुरेल दाहालको समर्थनमा उभिएका थिए। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिमा आउन आग्रह गरे पनि उनीहरूले नमानेपछि कारबाही प्रक्रिया अघि बढाइएको नेकपाले जनाएको छ।
त्यसैगरी, कुलप्रसाद केसीले दाङ–१ निर्वाचन क्षेत्रमा नेकपाका उम्मेदवार मेटमणि चौधरीविरुद्ध बागी उम्मेदवारी दिएका थिए।
पार्टी निर्णयविपरीत गतिविधि गरेकाहरूलाई कुनै पनि हालतमा कारबाही हुने चेतावनी नेकपाले दिएको छ।